जब एचआईभी संक्रमित श्रीमानले ढाँटे हरिमायालाई …..

416
Shares
  • विमलबहादुर विष्ट

डोटी, ३ वैशाख ।                                            चरीले राएन हो कि लेग काफल पाक्दा !
न घरबारी न जिन्दगी एड्स रोग लाग्दा !!

‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित हरिदेवी ( नाम परिवर्तन) ।

एचआइभी एड्सकै कारण उनले २४ वर्षको उमेरमा आफ्ना पति मात्रै गुमाएकी छैनन्, आफ्ना स सना छोराछोरीलाई स्कुलमा पढ्न पठाउन समेत सकिरहेकी छैनन् । त्यति मात्रै होइन श्रीमान्को मृत्युपछि उनलाई हातमुख जोर्न समेत धौधौ परेको छ ।

हरिमाया भन्छिन्, “दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन् ।” आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि निकै दुःखकष्ट गरिन तर सफल भएकी छैनन् । कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उनले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खाएकी छन् ।

हरिमायालाई एड्स (बम्बैया रोग) लागेको करीब चार वर्ष भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ ।

श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महीनापछि ओछ्यानमा परे । श्रीमान् आफूलाई टिबी भएको भन्दै औषधि खान्थे । मरेपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि म¥याको हो’ भनेपछि बल्ल उनले थाहा पाइन लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ ।

अन्जान तथा निर्दोष उनलाई श्रीमान्ले एचआइभी थमाइदिए । तर उनका छोराछोरीमा भने यो रोग नदेखिएको बताइएको छ ।

गाउँमा उनलाई एचआइभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले भन्नथाले, ‘यइले पनि दुनियाँको रोग सारी ।’ आफनो श्रीमान् बितेको करीब एक वर्षसम्म गाउँगाउँमा मागेर आफ्ना केटाकेटी पालिन। तर उनलाई गाँउमा बस्ने बाताबरण बनेन । उनी विस्तापित हुन पुगिन ।

गाउँबाट विस्थापित भएसँगै हरिमायाको जिन्दगीका पाइला टेक्ने एक टुक्रा जमीन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो । उनको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषले घर फर्कंदा परिवारमा नासोस्वरुप एचआइभी ल्याइदिने गरेका छन् । रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स बढी भएको दोस्रो पहाडी जिल्लामध्येमा गनिन्छ ।

सिकारीको तिर लागेर घाइते भएको मृगजस्तै डोटी पनि एचआइभी रोगको ओछ्यानमा दिनानुदिन थला पर्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको तत्थ्याङ्कमा उल्लेख छ ।
यहाँका एचआइभी सङ्क्रमितहरु गाउँमा बहिस्कृत छन्, अपहेलित छन् ।

हरिमायाका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन् । साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो (एड्स आयो)’ भन्ने गरेका कारण उनीहरु साथीसँगीसँग खुलेर बोल्न र हिँड्न नसक्ने गरेको दुखेसो पोख्दै उनी भन्छिन्, “जङ्गलमा काफल पाकेको चरीले नचिन्दा भोकै बस्नुपरेको र समयमै श्रीमानलाई लागेको एचआइभी नचिन्दा आफनो यस्तो अवस्था भयो, त्यसैले बिलौनाका गीत गाएर बस्न बाध्य छु ।” आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवानसंग प्रार्थना गर्ने र गीत गाउने गरेको समेत हरिमाया बताउँछिन् ।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका अनुसार डोटीमा खुलेका मात्रै ९८० एचआइभी एड्सबाट सङ्क्रमित छन् भने नखुलेकाहरु अझै धेरै हुनसक्छन् । अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन् । जिल्लामा एचआइभी रोकिनुको साटो दिनानुदिन बढिरहेको पाइएको छ । यहाँको एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *