सरकारको चेतावनीका बाबजुत सरकारी चिकित्सक थप आन्दोलित
काठमाडौँ, २६ चैत । स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएका बेला सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ ।
गोदानले सोमबार अबेर विज्ञप्ती जारी गर्दै मंगलबार (आजबाट) कुनै पनि स्वास्थ्य संस्थाबाट मेडिको लिगल सेवा नदिने र बैठक, तालिम तथा गोष्ठीहरूमा समेत भाग नलिने घोषणा गरेको छ ।
अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रबिन खड्काद्धारा जारी विज्ञप्तीमा सामुहिक राजिनामा दिन बाँकी चिकित्सकले तत्काल राजिनामा संघको कार्यालयमा पठाउन समेत भनिएको छ ।
समायोजनमा आफूहरुलाई संघ अन्तरगर्त राखिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले शुक्रबारबाट देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन् । उनीहरुले समायोजनमा गरिएको त्रुटि नसच्याए सामुहिक राजिनामा दिने चेतावनी समेत दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले भने आन्दोलनरत चिकित्सकलाई विरोधका कार्यक्रम फिर्ता लिई सेवामा फर्किन वा कारवाही भोग्न तयार रहन चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँद्धारा जारी विज्ञप्तीमा आन्दोलन जारी राखे अत्यावश्यक सेवा सञ्चालन ऐन तथा अन्य प्रचलित ऐन अनुसार कारवाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]