जनकपुर चुरोट कारखाना खुलाउने सपना कसैले नदेखे हुन्छ : सामाजिक विकास मन्त्री शाह
जनकपुर २२ चैत । प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले बन्द भईसकेको जनकपुर चुरोट कारखाना (जचुकालि) पुन सञ्चालन हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जचुकालि पुर्नसञ्चालनमा ल्याउन प्रयास भईरहेको बताइरहेका बेला सामाजिक विकास मन्त्री साहले चुरोट उद्योग नखुल्ने स्पष्ट पारेका हुन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालको संयुक्त अयोजनामा भएको सूर्तिजन्य पदार्थ नियन्त्रणमा प्रदेश तथा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश सरकार जनस्वास्थ्यको विषयमा गम्भीर रहेको भन्दै बन्द भएको चुरोट उद्योग खोल्ने कुरा सोच्न पनि नसकिने बताए ।
‘नेपालमा सूर्तिजन्य पदार्थको सेवनले बार्षिक २७ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालको कानुनले पनि सूर्तिजन्य पदार्थको उत्पादनलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरेको छ । सूर्तिजन्य पदार्थको कारणले नसर्ने रोगको जोखिम यसरी बढीरहेको पनि छ । यस्तो अवस्थामा हामीले चुरोट उद्योग खोल्न दिन्छौँ ? दिदैनौँ । न सरकारले खोल्न पाउँछ । न निजी संस्थाले । हामी प्रदेश नम्बर २ मा सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न चाहन्छौँ,’ मन्त्री साहले भने ।
प्रदेश सभा अन्तरर्गतको प्राकृतिक स्रोत तथा बाताबरण समितिका सभापति रामचन्द्र मण्डलले दुई नम्बर प्रदेश सुर्तीजन्य पदार्थ विशेषगरी गुड्खा प्रयोगमा अघि रहेको भन्दै यसलाई नियन्त्रण गर्न अहिलेको सबैभन्दा चुनौती रहेको बताए । सभापति मण्डलले संघीय सरकारले बनाएको कानुनलाई हेरेर सूर्ति नियन्त्रण सम्वन्धी प्रदेश कानुन बनाएर अघि बढने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद प्रमिला दासले सूर्ति, चुरोटको अति प्रयोग प्रदेश नं २ का लागि टाउको दुखाई भएको भन्दै यसलाई कडाईका साथ लागू गर्नुपर्ने बताईन । ‘तराईमा युवापुस्ता अहिले गुडखा र खैनीको सिकार भएका छन् । सरकारी अनुगमन फितलो छ । यसलाई अब कडाईका साथ लागू गर्नुपर्छ,’ उनले भनिन् ।
अर्की सांसद चमेली दासले पनि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्नुपर्ने बताइन ।
कार्यक्रममा दुई नम्बर प्रदेशका प्रमुख सचिव दीपक सुवेदीले सूर्ति नियन्त्रण सम्वन्धी कानुनको कार्यान्वनय अहिलेको आवश्यकता भएको बताए । ‘यो जनताको स्वास्थ्यसंग जोडिएको विषय भयो । नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ नियन्त्रण गर्नुको विकल्प छैन । यसमा संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढनु पर्ने छ,’ सुवेदीले भने ।
कार्यक्रममा बीर अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको सम्वन्धको बारेमा प्रकाश पारेका थिए । ‘सुर्तीजन्य पदार्थमा ७ हजार केमिकल हुन्छ । त्यसमध्ये ७० वटा क्यान्सर रोग बनाउन मद्धत पुर्याउने खालको छ । यसैले पनि सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नु जरुरी छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका कानुनका उपसचिव पुस्करराज नेपालले सूर्ति नियन्त्रण सम्वन्धमा सरकारले तयार गरेको कानुन र कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले कानुन उत्कृष्ठ भएपनि सर्बपक्षीय सहयोग विना यसको कार्यान्वयन गाह्रो हुन भन्दै सघाउन आग्रह गरे ।
यस्तै कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तिजन्य पदार्थ नियन्त्रणमा सरकारले ल्याएको कानुन, त्यसको आंशिक कार्यान्वनय पछि देखिएको सकारात्मक प्रभावका बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यले नसर्ने रोग र सूर्तिजन्य पदार्थ नियन्त्रणमा सञ्चारमाध्यमको महत्वपूर्ण रोग भएको भन्दै यसमा सरोकारवाला पक्षबीच हातेमालो हुन जरुरी रहेको बताइन ।
कार्यक्रममा जनकपुर अञ्चल अस्पतालका डाक्टर जामुन सिंह, धनुषा जिल्लाका निमित्त प्रजिअ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता परियार लगायतले सूर्ति नियन्त्रणका लागि हातेमालो गर्ने बताएका थिए ।
सम्पर्क इमेल : [email protected]