मिर्गौलाको पत्थरी झिक्न ओमले शुरु गर्‍यो आरआईआरएस प्रविधि

काठमाडौँ, ११ चैत । चावहिलस्थित ओम अस्पतालले मिर्गौलाको पत्थरीको उपचारका लागि रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी (आरआईआरएस) प्रविधि भित्र्याएको छ । यस प्रविधिमा दुरविनको सहायताले मिर्गौलाको पत्थरी निकाल्ने गरिन्छ ।

बरिष्ठ युरो सर्जन प्राडा भोलाराज जोशीको नेतृत्वको टोलीले यो सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

मिर्गौलाको पत्थरी झिक्ने विभिन्न पद्धतीमध्ये आरआईआरएस सबैभन्दा पछिल्लो र प्रभावकारी मानिन्छ । यो पद्धतीबाट शल्यक्रिया गर्दा न बिरामीको पेट चिर्नुपर्छ न त प्वाल नै पार्नुपर्छ ।

युरो सर्जन प्राडा जोशी भन्छन्, यो पद्धतीमा मुत्र नलिबाट मसिनो दुरविन सहितको तार जस्तो उपकरण मिर्गौलाको पत्थरी भएको भागसम्म पठाउने र पत्थरीलाई लेजर प्रविधिबाट टुक्रा पार्ने र त्यहि मसिनो नलिबाट पत्थरी बाहिर झिक्ने गरिन्छ ।

घाउ हुने तथा रगत बहने अवस्था नै नआई गरिने शल्यक्रिया भएकोले बिरामी पत्थरी झिकेको केही घण्टामै सामान्य अवस्थामा आँउछ र दोस्रो दिनमै अस्पतालबाट डिस्चार्ज हुनसक्छ । डा जोशीका अनुसार पत्थरी झिक्ने यो पद्धती संसारकै सबैभन्दा ‘लेटेष्ट’ हो।

विकसित देशमा यो पद्धती आएको केही बर्ष मात्र भएको भन्दै उनले नेपालमा पनि यो प्रविधि भित्रिएको धेरै नभएको बताए । ‘यो प्रविधि आम सर्वसाधारणको पहुँचमा छैन । अर्थात खर्चको हिसावले महंगो छ । तर ओमले सर्वसाधारणलाई लक्षित गरी तुलनात्मक रुपमा निकै सस्तोमा यो सेवा सुरु गरेको छ,’ ।

प्राडा जोशीले यो पद्धतीबाट १५ एमएम सम्मको पत्थरी झिक्न सकिने जानकारी दिए । उनले बिरामीले शल्यक्रिया गरेको केही घण्टाबाटै सामान्य खाना खान सक्ने, हिडडुल गर्न सक्ने र तेस्रो चौथो दिनबाट दैनिक कार्यसमेत सञ्चालन गर्न सक्ने अवस्थामा पुग्ने बताए ।

तर एनेस्थेसिया दिइएको हुनाले २४ घण्टा निगरानीमा राख्नुपर्छ । नत्र उहि दिन घर जान पनि सकिन्थ्यो’ डा। जोशीले थपे ।

अस्पतालका मेडिकल निर्देशक डा।केपि देवकोटाले आम सर्वसाधारणको पहुचमा उच्चस्तरीय प्रविधि सहितको उपचार सेवा दिलाउने प्रयास स्वरुप ओम अस्पतालले आरआईआरएस सेवा सुरु गरेको बताए ।

यो पनि पढ्नुहोस्…..

मिर्गौलाको पत्थरी झिक्न बीर अस्पतालमा नयाँ प्रविधि : न चिर्नु पर्ने, न प्वाल पार्नु पर्ने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *