रुकुम पश्चिम : निशुल्क स्वास्थ्य शिविरबाट २३७ जना लाभान्वित

48
Shares

मुसिकोट, २८ असोज । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् ।

चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यहाँका १०, ११, १२, र १३ वडाका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिइएको नगरपालिकाले जनाएको छ ।

शिविरमा छाला, नाक, कान, दाँत, ग्यास्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बताइएको छ । स्त्रीरोग विशेषज्ञ डा अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचसँगै केही बिरामीलाई निःशुल्क औषधिसमेत दिइयो ।

घरआँगनमै निःशुल्क स्वास्थ्य जाँच, उपचार र परामर्शसहितको सेवा लिन पाउँदा यस क्षेत्रका बिरामी खुशी भए । स्वास्थ्यचौकी नभएका विभिन्न वडाका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुरुप नै शिविरको आयोजना गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार चौरजहारी नगरपालिकाले स्वास्थ्यचौकीको पहुँच नभएको वडाका बिरामीलाई विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ ।

हाल चौरजहारी नगरापालिकामा तीन स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *