एक बर्षमा साढे २६ हजार नेपालीलाई टोक्यो कुकुरले

काठमाडौँ, १२ असोज । आज सेप्टेम्बर २८, विश्व रेविज दिवस । ‘रेबिजबारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ ।

रेविजले मानिसमा पार्ने प्रभावको बारेमा जनचेतना अभिबृद्धि गर्ने, जोखिममा रहेकालाई रोकथाम बारेमा सूचना सल्लाह र सेवाहरु प्रदान गर्ने तथा रोग नियन्त्रणका लागि आवश्यक वकालत गर्दै रेविजविरुद्धको संघर्षको रुपमा यो दिवस मनाइन्छ ।

रेविज रोगका कारण संसारभर हरेक बर्ष ५९ हजार व्यक्तिको ज्यान जाने गरेको छ । जसमा आधा जति १५ बर्ष मुनिका बालबालिकाहरु रहेका छन् । संसारभर हुने रेविज मध्ये करीब ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेको छ ।

नेपालमा यो समस्या विशेषत तराई र पहाडमा देखिने गरेको छ । नेपालको आधा जनसंख्या यो रोगको उच्चजोखिममा रहेको बताइएको छ । त्यस्तै एक चौथाई मध्यम जोखिममा छ , इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत आवमा मात्रै २६ हजार ३१२ जनालाई कुकुरले टोकेको थियो ।

२२०२ जनालाई कुकुर बाहेकका जनावरले टोकेका थिए । यसरी जम्मा २८ हजार ५१४ जनालाई २ लाख ८१ हजार ७१८ भायल रेविज विरुद्धको खोप दिइएको थियो ।

कसरी लाग्छ यो रोग ?
रेविज रोग लाइसा नामक स्नायु (नसा)मा प्रभाव पार्ने एनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरस संक्रमित जनावरको रयालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नसाको माध्यमले मस्तिस्क सम्म पुग्छ । यसको भाइरस शरीरमा प्रवेश गरेपछि शुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउने , घोचे जस्तो हुने र पछि भाइरस मस्तिस्कसम्म पुगेपछि मस्तिस्क तथा स्नायुहरु सुन्निने हुन्छ ।

प्रभावित व्यक्तिहरुका क्रियाकलापहरु र व्यवहारहरु अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मृत्यु हुन्छ ।

यस रोगको लक्षणहर देखिएमा अर्थात रोग लागेमा मृत्यु निश्चित छ । तर समयमै गरिएका सावधानीले यसलाई शतप्रतिशत रोकथाम गर्न सकिन्छ । यसको रोकथामको लागि जनावरबाट भाइरस मानिसमा आउन नदिनु नै सबैभन्दा राम्रो उपाय हो । त्यसका लागि पाल्तु जनावरहरुलाई व्यवस्थित तरिकाले पाल्ने तथा जगली जनावरेको सम्पर्कमा नआउने उपाय गर्नुपर्दछ ।

कसरी जोगिने रेबीजबाट ?
घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाह अनुसार समय समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गर्ने । अन्य कुकुरहरुको समुचित खोप लगाउने तथा व्यवस्थापन गर्ने ।

त्यस्तै समयमै शंकास्पद कुकुर वा अन्य जनावरहरुको टोकाईपछि टोकेको स्थानलाई कमसेकम १५ मिनेट सावुन पानी, डिटोल, पोभिडिन आयोडिन जस्ता भाइरस मार्ने चिजले राम्ररी सफ ागर्ने र नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार रेविज रोगको खोप लगाउने । यो खोप नेपाल सरकारले निशुल्क उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *