शिक्षण अस्पतालको निर्देशक : निवेदन हाल्ने छ जना, चर्चामा तीन जना

काठमाडौँ, २४ साउन ।   कार्यकारी निर्देशक प्राडा दीपक महराले गत ४ साउनमा राजिनामा दिएपछि त्रिवि शिक्षण अस्पतालको नेतृत्व यतिवेला चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की सहायक डीन प्राध्यापक मन्दिरा वन्तले सम्हालेकी छन् । उनी नर्सिङ प्राध्यापक हुन् । र, काम चलाउ नै भएपनि त्रिवि शिक्षण अस्पतालको निर्देशक बन्ने उनी पहिलो नर्स हुन् ।

गत जेठको तेस्रो साता नियमित कार्यकाल पुरा गरेका प्राडा महराको पदावधि त्रिविले तीन महिना थपिदिएको थियो । त्यतिवेलै त्रिविले अस्पतालको निर्देशक बन्न योग्य तीन जनाको नाम सिफारिस गर्न आइओएम डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यी सर्च कमिटि गठन गरेको थियो । तर सो कमिटिले अहिलेसम्म नाम सिफारिस गर्न सकेको छैन । सिफारिस गर्न ढिलाई भईरहँदा निर्देशक को बन्ने भनेर हानथाप शुरु हुन थालेको छ ।

प्रतिस्पर्धामा तीन जना 
सर्च कमिटि समक्ष छ जनाले निवेदन हाले पनि अहिले प्रतिस्पर्धामा तीन जना देखिएका छन् । तर त्यसमध्ये निर्देशक को बन्छ भनेर अनुमान गर्न अहिले पनि गाह्रो छ ।

सर्च कमिटि समक्ष प्राडा वाइपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले संगै प्राडा प्रदीप बैद्य, प्राडा रोहितकुमार पोखरेल र प्राडा रामेश्वर पोखरेलले पनि निवेदन हालेका छन् । तर तीमध्ये अघिल्ला तीन जनाको नाममा चर्चा चुलिएको छ ।

‘डा सिंह, डा लोहनी र डा काफ्लेलाई एउटा-एउटा समूहले अघि सारेको छ । यसले गर्दा अहिले पनि अन्योलको अवस्था छ,’  त्रिविका एक प्राध्यापकले भने ।

कसलाई कसको साथ ?
प्राडा वाईपी सिंहलाई सर्च कमिटिका संयोजक समेत रहेका प्राडा अग्रवालको दह्रो साथ छ । उनी डा गोविन्द केसीको अनसनमा समेत शुरु देखि नै लागेकोले डा केसीको साथ समेत उनलाई रहेको बुझिएको छ । यदि उनलाई केसीले खुलेर सपोर्ट गरिदिएपनि उनको सम्भावना बढी हुन्छ ।

तर,  सात बर्ष देखि सुरेश वाग्ले क्यान्सर सेन्टर र रिसर्च डिपार्टमेन्टमा समेत प्रमुख बनेर काम देखाउन नसकेका डा सिंहको व्यवस्थापकीय क्षमतामा धेरैले प्रश्न उठाएकोले यत्तिकै निर्देशक बनाउन भने गाह्रो भएको बुझिएको छ ।

निर्देशकको दावेदारी प्रस्तुत गर्ने अर्का उम्मेद्धार हुन् प्राडा ईश्वर लोहनी । उनलाई पूर्व निर्देशक प्राडा भगवान कोइराला सहितको समूहले समर्थन गरेको बुझिएको छ । कोइराला निर्देशक हुँदा सहायक निर्देशक बनेका लोहनीले पूरा कार्यकाल भने विताएनन् । यसले उनको व्यवस्थापकिय क्षमतामा शंक ागर्ने ठाँउ मिलेको कतिपयले बताउने गरेका छन् ।

यद्धपी उनले सहायक निर्देशक भएर जति समय विताए त्यसमा राम्रै काम गरे भन्ने समूह शिक्षण अस्पतालमा बलियो देखिएको छ । उनले डा महराका पालामा भएका कामहरुमा समेत धेरैमा असिस्ट गरेको भन्दै उनी नै निर्देशक हुनुपर्छ भन्ने आवाज बढ्दै गएको छ ।

अर्का प्रतिस्पर्धी हुन् प्राडा दिनेश काफ्ले । खरो स्वभावका काफ्लेसंग पनि सहायक निर्देशक भएको अनुभव छ । यद्धपी उनले त्यसबेला आफूलाई राम्ररी चिनाउन भने सकेनन् ।

आफ्नो काममा लगनशील भएर काम गर्ने भएकोले उनको बारेमा नकारात्मक टिप्पणी सुनिदैन तर सबैलाई मिलाएर लैजान सक्छन कि सक्दैनन् भन्ने आवाज त्रिवि वरपर गुन्जने गरेको छ । काफ्लेलाई अहिले सत्तापक्ष निकट मानिने चिकित्सकको साथ साथै केही बरिष्ठ चिकित्सकहरुले साथ दिएको बताइन्छ ।

यसबाहेक, डा बैद्य, पोखरेलद्धयको पनि चर्चा छ । तर यी तीन जनाको भन्दा अलि कम । यद्धपी सिफारिस गर्ने बेलासम्म जो पनि पर्न सक्छन् । चर्चामा रहेकामध्ये नपरेर अरु तीन जनामध्येबाट परे भने पनि अनौठो नहुने जानकारहरु बताउँछन् ।

दिन दिनै बैठक, दिन दिनै डेलिगेसन
समय लम्बिदै जाँदा सर्च कमिटिलाई सम्भावित नाम सिफारिस गर्न गाह्रो भइरहेको छ । डीन कार्यालयमा यस विषयमा दिन दिनै बैठक छलफल हुन्छ तर कमिटिले निर्णय लिन सकिरहेको छैन् ।

यहि बेला त्रिविका फ्याकल्टी, प्राध्यापक र पेशागत समूह मात्रै होइन, चिकित्सकहरुले स साना ग्रुप बनाएर समेत डीन अग्रवाललाई आ आफ्ना पक्षका व्यक्तिलाई सिफारिस गर्नुपर्छ भन्दै दवाव दिन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *