डा. गोविन्द केसीलाई प्रधामन्त्री ओलीको प्रस्ताव : ‘आयोगको अध्यक्ष तपाईँ बन्नुस्’


काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा आयोगको नेतृत्व लिएर काम गर्न प्रस्ताव गरेका छन् ।

डा. केसी चिकित्सा शिक्षा सुधारका लागि माथेमा कार्यदलले दिएको प्रतिवेदन अनुसार अध्यादेश पास गर्नुपर्ने लगायतका ७ बुँदे माग अघि सारि विगत २४ दिन देखि अनशनरत छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले डा. केसीलाई चिकित्सा शिक्षा सुधारको नेतृत्व लिन प्रस्ताव गरेका हुन् ।

सम्वोधनका क्रममा ओलीले भने, ‘ शिक्षा सुधारका लागि लागि कहाँ के के गर्नुपर्छ ? आउनुस बसौँ र छलफल गरौँ । चिकित्सा शिक्षा क्षेत्रमा कस्तो सुधार ल्याउनुपर्छ आउनुस बसौँ सल्लाह गरौँ । कस्तो शिक्षा ल्याउनुपर्छ तपाईँले नै नेतृत्व लिनुस । आयोग अध्यक्ष तपाईँ नै बन्नुस् ।’

त्यसअघि अघि प्रधानमन्त्री ओलीले डा केसीको अनशनबारे समेत कटाक्ष गरेका थिए । ‘स्वास्थ्य गम्भीर भयो भनियो । हामीले स्वास्थ्य जाँच गर्न भन्यौँ । हामीले भनेपछि परीक्षण नै नगर्ने ? यो कस्तो सत्याग्रह ? स्वास्थ्य जाँच गर्न नदिने ? पल्स जाँच्न दिन्न यस्तो पनि सत्याग्रह हुन्छ ?’ उनले डा केसीको अनशनलाई प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले लाभ लिन खोजेको भन्दै सतर्क रहन समेत आग्रह गरे ।

उनले भने, ‘वहाँको जीवनसंग कतिपयले राजनीतिक रोटी सेकेर खेलवाड गरेका छन् । बिचार गर्नुहोला ।’

प्रधानमन्त्री ओलीले गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदा काठमाडौँ ल्याउन नदिएर उपद्रो मच्चाएको भन्दै गर्न खोज्या के ? भनेर प्रतिप्रश्न गरेका थिए ।

मानव अधिकार भित्र अनशन नपर्ने भन्दै मानव अधिकारवादीहरुलाई समेत सच्चिन आग्रह गरे ।

चिकित्सक संघप्रति आक्रामक
प्रधानमन्त्री ओलीले सम्वोधनको क्रममा चिकित्सक संघ प्रति पनि कडा रुपमा प्रस्तुत भए । ओलीले भने, ‘नेपाल मेडिकल एशोसिएशन आन्दोलनका नाममा उपचारमा व्यवधान खडा गर्छ । अस्पताल बन्द गराउँदै हिडछ, यस्तो गर्न पाइन्छ ? यो अमानवीय हो कि होइन ?’

उनले भने डाक्टरले अस्पताल बन्द गर्छु र विरामीको उपचार गदिन भन्ने पाउँदैन । ओलीले अगाडी थपे, ‘स्लाइन दिनु पर्ने बेलामा स्लाइन दिन्न भन्न पाइन्छ ?’

सरकारको राजश्वबाट जागिर खाएका डाक्टरहरु एसोसिएशन बनाएर जनतालाई उपचार गर्दैनौँ भन्न नपाईने ओलीको तर्क थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *