मन्त्रीस्तरीय बार्ता टोली बनाउन डा. केसी पक्षको माग
काठमाडौँ, २ साउन । सचिवस्तरको बार्ता टोलीबाट निकास निस्कने सम्भावना कम रहेको भन्दै डा गोविन्द केसी पक्षले मन्त्रीस्तरीय टोली गठन गर्न सरकारसंग माग गरेको छ ।
डा. केसी पक्षसंग बार्ता गर्न सरकारले शिक्षा सचिव डा खगराज बरालको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीलाई तोकेको छ ।
तीन दिन अघि देखिको बार्ता भएपनि ठोस निकास निस्कने दिशामा अघि नबढेको भन्दै डा केसी पक्षले मन्त्रीको अगुवाईमा बार्ता गर्न चाहेको बताएको हो ।
‘अहिलेको टोलीसंग हामी तीन पटक छलफलमा बसिसक्यौँ तर उहाँहरुले डा केसीका मागका बारेमा खासै चासो नै दिनु भएको छैन । खाल डा केसीलाई काठमाडौँ ल्याउने विषयमा मात्रै कुरा केन्द्रीत गर्नुहुन्छ । सरकारको यो टिमबाट निकासको सम्भावना कम देखियो । त्यसैले मन्त्रीस्तरीय टोली हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ डा. केसी पक्षका बार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले भने ।
उनले माग पुरा हुने गरी बार्ता अघि बढे डा केसीलाई काठमाडौँ ल्याउन कुनै समस्या नहुने बताए । ‘तर यथास्थितिमा उहाँलाई काठमाडौँ ल्याउन गाह्रो छ,’ डा. सिंहले भने ।
बार्ता कतिखेर बस्छ टुंंगो छैन
डा केसी पक्षका बार्ता टोली संयोजक डा. सिंहले सरकारी टोलीसंग आफूहरु बार्ताका लागि सधै तयारी अवस्थामा नै रहेको बताए । ‘आज पनि हामी तयारी नै छौँ तर सरकारपक्षबाट अहिलेसम्म खवर नै आएको छैन,’ उनले भने ।
अस्ती बेलुका शिक्षा मन्त्रालयमा पहिलो चरणको बार्ता गरेको सरकार र डा केसी पक्षले हिजो सोही मन्त्रालयमा दिउसो र बेलुका गरी दुईपटक बार्ता गरिसकेको छ । यद्धपी दुबै पक्ष टसमस नहुँदा निकास निस्कन सकेको छैन ।
निकास निस्कन ढिलाई हुँदै जाँदा डा केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै डा केसीका सहयोगी चिकित्सकहरुले बताउँदै आएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रहेका डा केसीको अनशन आज १९ औँ दिन हो ।
सम्पर्क इमेल : [email protected]