असार १५ देखि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी
काठमाडौँ, १३ असार । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आफूसंग भएका पुराना सम्झौँता कार्यान्वनय गर्न सरकारलाई दुई दिनको समयसिमा दिएका छन् । उनले आगामी १५ असारसम्म ती सम्झौँताको कार्यान्वनय नभए आमरण अनसन थाल्ने चेतावनी दिएका छन् ।
आज अपरान्ह विज्ञप्ती जारी गर्दै डा केसीले बहुचर्चित चिकित्सा शिक्षा अध्यादेशको मुलमर्म प्रतिस्थापन विधेयक मार्फत तोडमोड गर्न खोजिएको भन्दै विरोध जनाएका छन् ।
सरकारले पोष्ट ग्राजुएट्स अध्ययन पछि चिकित्सकहरुलाई ५ बर्ष बोण्ड गराउन लागेको भन्दै त्यसको विरोध गरेका छन् । उनले पीजी अध्ययन पछि २ बर्ष भन्दा बढी बोण्ड नगराउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
डा केसीले जारी गरेको विज्ञप्ती यस्तो छ :
आदरणीय पत्रकार मित्रहरु
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ ।
यसमध्ये पनि मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा अहिले भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि हामीले चलाएको वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो ।
तर विडम्बना अहिले सो अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना हामीलाई प्राप्त भएको छ । त्यस्तो कदम हामीलाई स्वीकार्य छैन ।
त्यसैले निःशुल्क पीजीपछिको सेवा अवधि हामीसँग समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुको गर्दर्छौं । त्यसो नगरिएको खण्डमा यही असार १५ गतेदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं ।
हामीसित बारम्बार सम्झौता भए बमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने खालको छ किनभने प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ । फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन सकेको छैन भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त छ । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने काम हुन सकेको छैन ।
त्यसैले यो सम्वेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने पनि जानकारी गराउँछौं ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७५।३।१३
सम्पर्क इमेल : [email protected]