भक्तपुर : गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान


भक्तपुर, ९ असार । गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले मोरङ कानेपोखरी गाउँपालिका वडा नं १ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो ।

गत वैशाख १० गते भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई लोभ, लालच, किर्ते कागज बनाएर छोरा हो भन्दै गिरीको मिर्गौला झिकेर बस्नेतले आफूलाई प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय ९२० अनुसार कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भनी मुलुकी ऐन अव १२४ नं बमोजिम कारागार चलानको आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिए।

जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पताल भर्ना गराउनुपर्ने अवस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अवस्थाले उपचार गर्न सक्ने अवस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरी आदेश जारी भएको हो ।

मिर्गौला झिकिएका गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ । गिरीको हकमा मिर्गौला झिकिएका पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनुपर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी गिरीलाई मुलुकी ऐन अव ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिए।

बस्नेतले गिरीलाई आफ्नै छोरा बनाउँछु भन्दै फकाउँदै, किर्ते कागजात तयार पारी गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरेको अभियोगमा बस्नेत पक्राउ परेका हुन् । बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ भने अन्य आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *