कर्मचारी र कलेज सञ्चालकबीचको लफडाले जानकी मेडिकल कलेजका विद्यार्थी मारमा

काठमाडौ, २९ जेठ । यस शैक्षिक सत्रमा ठ्याक्कै ३९ दिन भयो जानकी मेडिकल कलेज बन्द भएको । अघिल्लो बर्ष यसै सिजनमा शुरु भएको यस्तै खाले बन्द चार महिनासम्म लम्बिएको थियो ।

हरेक बर्ष यसै सिजनमा हुने यसप्रकारको बन्दको माग पनि हरेक पटक उस्तै नै हुन्छ, तलव रोकियो भन्ने माग ।

अघिल्लो बर्ष पनि लामो समय देखि तलब नपाएको भन्दै स्थानीय कर्मचारीहरुको अगुवाईमा कलेज बन्द भएको थियो । यसपटक पनि १६ महिना देखि तलव नपाएको भन्दै बन्द गराएका छन् ।

आन्दोलनसंगै फेरिने कलेज प्रशासन (नेतृत्व)ले माग सम्वोधन गर्ने कोशिश भइरहेको बताउँछ तर बन्द भइ नै हाल्छ । यसले, दक्ष चिकित्सक बन्ने सपना बुनेर लाखौँ रकम तिरी जानकी मेडिकल कलेजमा भर्ना भएका सयौ विद्यार्थीको भविस्य अन्योलमा पारिदिएको छ ।

अघिल्ला बर्ष जस्तै यसपटक पनि २१ बैशाखबाट कलेजको पठन पाठन ठप्प छ । मेडिकल कलेजले सञ्चालन गरेको ४०० बेडको अस्पतालमा एक जना विरामी छैन । अर्थात इमरजेन्सी समेत बन्द छ । तर नियमक निकाय अहिलेसम्म मौन छ । यसबारे कलेजका केही विद्यार्थीहरुले काठमाडौँमा आएर सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्रयास समेत गरिरहेका छन् । तर अपेक्षित नतिजा उनीहरुले अहिले पनि प्राप्त गरिसकेका छैनन् ।

जानकीलाई सेटिङमा दिइन्छ सिट ?
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र नेपाल मेडिकल काउन्सिलले आ आफ्ना तरिकारले कलेजको इन्सपेक्सन गर्छ र त्यसको आधारमा सिट शैक्षिक सत्रका लागि सिट निर्धारण गर्छ ।

जानकी कलेजका लागि छुट्याएको गतवर्ष र यसबर्ष एमबीबीएसको ८० सिट पनि त्यहि प्रक्रिया अन्तरगर्त नै हो । तर आन्दोलनको मारमा परेका पिडीत विद्यार्थीहरु यो सबै आइओएम र काउन्सिलका पदाधिकारीले गरेको सेटिङको आधारमा हुने गरेको आरोप लगाउँछन् ।

‘गत वर्ष ४ महिना आन्दोलन भयो, विरामी आएनन्, विद्यार्थीले पढन पाएनन् । फ्याकल्टी पुग्दैनन् । प्रयोगशालाका सामग्री तथा उपकरणहरु सबै म्याद गुजे्रका छन् । व्यवस्थापकीय यति झुर छ तर पनि अरु मेडिकल कलेजको सिट घटाउँदै गर्दा जानकीलाई भने ८० सिट नै कायय गरियो । गत वर्ष त दिइयो नै तर यसबर्ष पनि त्यति नै दिइयो,’ एक विद्यार्थीले प्रतिप्रश्न गर्दै भने, के मेडिकल कलेजको सिट पाउनका लागि जग्गा र भवन भए पुग्छ ?’

उनले इन्सपेक्सनमा जानेहरुले कलेज सञ्चालकहरुको मिलोमतोमा होटलमा बसेरमा कलेजको इन्सपेक्सन गरेको नम्बर चडाउने गरेको आरोप लगाए । ‘झण्डै डेढ महिना देखि बन्द कलेज खुल्ने टुंगो नलागेपछि हामी काठमाडौँ आएका छौँ सम्वन्धित निकायहरुसंग गुहार मागेका छौँ तर तै चुप मै चुपको अवस्था छ । कसैले रेस्पोन्स गरेका छैनन् ,’ उनले भने ।

जानकीको नतिजा : ६८ जनामा २ जना पास तै पनि फुल सिट
आन्दोलनको लफडा सुल्झाउन नसकेको भन्दै दुई शैक्षिक सत्र (२०१४ र २०१५) मा नयाँ भर्ना लिन नै नपाएको जानकीले त्यसपछिका हरेक बर्ष ८० सिटका एमबीबीएसका लागि सिट पाइरहेको छ । तर कलेजको लफडा भने अहिले पनि जस्ताको तस्तै छ ।

गतवर्ष एमबीबीएसका लागि ८० सिट पाएर पनि ६८ जना मात्रै भर्ना गर्न सफल भएको जानकीमा पहिलो बर्षको जाँच दिएका त्यस व्याचका विद्यार्थी मध्ये नियमित तर्फ २ जना मात्रै पास भएका छन् । यसपटक पनि आइओएमले ८० सिट नै दिएपनि नेपाली ८ जना छात्रबृत्ति, ९ जना भारतीय सहित ५७ जना विद्यार्थी मात्रै भर्ना गर्न सफल भएको छ ।

आइओएमले तोकेको ४२ लाख ४५ हजार शुल्क मध्ये पहिलो ( आधा) किस्ता २१ लाख २३ हजार बढी तिरिसकेको विद्यार्थीहरुले आफ्नो भविस्य प्रति जिम्मेवार निकाय मौन रहँदा आक्रोश व्यक्त गरेका छन् ।

बिरामीको चाप बढने बेलामा जहिले आन्दोलन
जानकीमा हरेक बर्ष यहि सिजनमा आन्दोलन हुनुले आन्दोलनमा लाग्ने स्थानीय कर्मचारी र कतिपय चिकित्सकहरुको नियतमा समेत शंका गरेका छन् ।

‘बैशाख देखि असार सम्म विरामी बढ्ने सिजनमा आन्दोलन हुन्छ र अस्पतालको इमरेजेन्सी सहित बन्द हुन्छ । यसले विरामीहरु अरु प्राइभेट क्लिनिकमा जान बाध्य हुन्छन् । त्यसैले हरेक पटक यहि सिजनमा बन्द हुनुको पछाडी व्यापारिक स्वार्थ पनि हुनसक्छ,’ एक विद्यार्थीले भने ।

हरेक आन्दोलपछि व्यवस्थापक परिवर्तन तर समस्या उही
सन् २०१३ तिर व्यापक जानकी मेडिकल कलेजमा यस्तै समस्या भएको थियो । विद्यार्थीहरुले त्यतिवेला आन्दोलन चर्काउँदा अध्यक्ष डा ओपी पाण्डे थिए । त्यसपछि कलेजले भर्ना लिन पनि पाएन । २०१६मा कलेज खुल्दा हरिमान लामा आए । समस्या समाधान भएन । अनि गोपाल खनाल, त्यसपछि डिल्लीराज पौडेल आएका छन् । यस्तै केही महिना अघि सम्म डाइरेक्टर पनि डा अशोक पाण्डे थिए । अहिले राजेश थापा आएका छन् । तर समस्या उही । किनकी स्थानीय कर्मचारी परिवर्तन नै भएका छैनन् । ‘व्यवस्थापक जति सुकै परिवर्तन भएपनि जानकीमा कर्मचारी संयन्त्रले परिर्वतन हुनै दिदैन,’ एक विद्यार्थीले भने ।

समस्या समाधानको प्रक्रियामा लागेका छौँ : डीन अग्रवाल
आइओएमका डीन प्राडा जगदीश अग्रवालले जानकी मेडिकल कलेजको समस्या समाधानको प्रक्रियामा रहेको बताएका छन् । तर उनले कलेज खुल्ने मिति भने अहिल्यै भन्न नसकिने प्रतिक्रिया दिए ।

‘त्यहाँको समस्याबारे हामी चिन्तित छौँ त्यसैले हामीले केन्द्रबाट अनुगमन समेत पठाएका थियौँ । उनीहरुको प्रतिवेदन समेत आइसकेको छ । अब प्रक्रिया अनुसार कारबाही अघि बढाउछौँ,’  उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *