बलात्कारीलाई छुटाउन किर्ते कागज बनाउने वीर अस्पताल सेवा आयोग सचिव र रेडियोग्राफर विरुद्ध भ्रष्टाचार मुद्धा

लक्ष्मण अर्याल

काठमाडौँ, २२ जेठ । एक जना बलात्कारीलाई जोगाउन ५० हजार रुपैयाँ लिएर किर्ते कागज बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका सेवा आयोग सचिव लक्ष्मण अर्याल र सोही अस्पतालमा सातौँ तहमा कार्यरत रेडियोग्राफर कृष्णप्रसाद तिमिल्सिना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले बलात्कार अभियोगमा पक्राउ परेका उद्धवप्रसाद नेपाललाई छुटाउन बीर अस्पतालका सचिव अर्याल र रेडियोग्राफर तिमिल्सिनाले उनका ससुरा केदारनाथ पराजुलीसंग ५० हजार रुपैयाँ लिएर किर्ते रिपोर्ट बनाइदिएको दावी गरेको छ ।

अर्याल र तिमिल्सिनाले बनाएको किर्ते रिपोर्टमा बलात्कार भएको भनिएको समयमा आरोपी नेपाल वीर अस्पतालमा उपचाररत भनि उल्लेख भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)को छानवीन प्रतिवेदनलाई लाई उदृत गर्दै अख्तियारले दावी गरेको छ ।

अख्तियारले अनुसन्धानबाट भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसूर देखिएको भन्दै दुबै जनालाई लाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने माग सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

अख्तियारले वीर अस्पतालको कागजात अनधिकृत रुपमा गैरकानूनी तवरले थपघट तथा हेरफेर गर्ने केदारनाथ पराजुली तथा जबरजस्ती करणी मुद्दाबाट छुटकारा पाउने उद्देश्यले आफैले बनाएको किर्ते कागजात अदालतमा पेश गर्ने उद्बवप्रसाद नेपालले भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम जरिवाना र दण्ड सजाय हुन मागदाबी सहित विशेआरोप(पत्र दायर गरेको जनाएको छ ।

त्यसो त अर्याल यसअघि किर्ते कागजको यहि मुद्धामा थुनामा परिसकेका व्यक्ति हुन् । पछिल्लो समय उनी वीर अस्पतालमा धुर्मुस सुन्तली फाउन्डेशनको अगुवाईमा भएको सरसफाई अभियानको चर्को आलोचना गर्दै हिडेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *