डडेल्धुरा : बालबालिकामा कडा कुपोषण

धनबहादुर भण्डारी


डडेल्धुरा, ११ जेठ । डडेल्धुरा अमरगढी नगरपालिकाकाभित्र २६ जना बालबालिकामा कडा कुपोषण देखिएको छ ।

नगरपालिकाभित्र रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।

आज यहाँ आयोजित अमरगढी नगरपालिकास्तरीय शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको पुनरावलोकन तथा समीक्षा कार्यक्रममा नगरपालिकाको कुल बालबालिकामध्ये एक प्रतिशतमा कडा र १२ प्रतिशतमा मध्यम शीघ्र कुपोषण देखिएको स्वास्थ्य प्रमुख पनेरुले जानकारी दिए ।

बालबालिकाको कुपोषण चेकजाँच गर्दा पाखुरामा नापिने फितामा तीन वटा रगं रहेका हुन्छन् जसमा पहेँलो, हरियो र रातो रंगले क्रमशः मन्द, सामन्य र कडा कुपोषणका रुप निर्धारण गर्दछ ।

‘शरीरको हुनपर्ने वृिद्ध विकास नहुनुलाई नै कुपोषण भनिन्छ ।’ कुपोषण हुन नदिन अभिभावकहरुले विभिन्न कुरामा ध्यान दिनुपर्ने पनेरुले बताए।

विशेषगरी बालिबालिकालाई पोसिलो खानेकुरामा ध्यान नदिए उनीहरु कुपोषित हुने चिकित्सक बताउँछन् ।

कुपोषित बालबालिका उमेर अनुसार तौल र उचाइ पनि नबढ्ने, होचा र पुड्का हुनुका साथै गर्भवती महिलामा रक्तअल्पताका कारणले समेत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको जनाएको छ ।

पर्याप्त खानाको अभाव, नियमित स्तनपान नहुनु र खानपानमा समेत ध्यान नदिँदा कुपोषणका लक्षण देखा पर्दछन् । आमाको दूध खान नपाएर पनि धेरै बालबालिका कुपोषित भएका हुन्छन् । बच्चाका लागि अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकको छ । एउटा बच्चाले कम्तीमा पनि दुई वर्षसम्म आमाको दूध खान पाउनुपर्ने दाबी चिकित्सको छ ।

विभिन्न रोगका कारणले पनि बालबालिका कुपोषित हुने गरेको तथ्यांकले जनाएको छ । मलेरिया, टाइफाइड, दादुरालगायतका रोगले गर्दा पनि बालबालिकालाई कुपोषित गराइएको पाइएको स्वास्थकमी बताउँछन् । यस्ता किसिमका रोगको शंका लाग्ने वित्तिकै समयमै उचार गराए कुपोषण घटाउन सकिने चिकित्सक बताउँछन् । खानपान, व्यक्तिगत सरसफाइका साथै वातावरणीय सरसफाइमा ध्यान दिन उहाँहरूको सुझाव छ ।

डडेल्धुरामा विगत लामो समयदेखि दर्जन बढी गैरसरकारी संस्था पोषण र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका छन् । बालबालिकामा कुपोषणको यस्तो अवस्था देखिनुले ती संस्थाले गर्ने काम कुराका बारेमा पनि सरोकारवालाले चासो देखाएका छन् ।

वर्षौदेखि सरकारी गैरसरकारी संस्थाले बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि नगरपािलकाभित्र नै कुपोषित बालबालिकाको तथ्यांक सार्वजनिक हुनुले पनि ती संस्थाको कार्यप्रति प्रश्न खडा भएको सर्वसाधारणको बुझाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *