संखुवासभा: काजका कर्मचारीले स्वास्थ्य सेवा प्रभावित

संखुवासभा, ९ जेठ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् ।

सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार याफू स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनिता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपू स्वास्थ्य चौकीमा राधिका कोइराला सरुवा भएका थिए । तर उनीहरु अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य केन्द्र गएका छैनन् ।

विभागले राधिका कोइरालाको डेढ वर्ष अघि नै धुपू स्वास्थ्य चौकीमा सरुवा गरेको हो । त्यसको तीन महिनापछि स्वास्थ्य मन्त्रालयले कोइरालाको रमाना पत्र नदिन जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेको थियो । सरुवाका कर्मचारी सबै जसो स्थानीय भएका कारण सरुवा हुन अटेर गर्ने गरेका छन् । उनीहरु कुनै पनि बहानामा जिल्ला अस्पतालमा नै काम गर्ने देखिएको छ भने सरुवा भएका स्वास्थ्य केन्द्रमा स्वस्थ्य कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

सरुवा गरिएका स्थानीय तहबाट काज फिर्ता गरिदिन जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक पत्राचार समेत गरिएको छ । तर काज फिर्ताका लागि महिनौँ अघि नगरपालिकाले लेखेको पत्रको अटेर गर्दै उनीहरु सदरमुकाम छोडेका छैनन् ।

जिल्लामा रहेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाले दिने तालीम गोष्ठीमा काजका कर्मचारीका कारण विवाद उत्पन्न हुने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *