के तपाँईको तालु खुइलिएको छ ? यस्तो हुनसक्छ उपचार

  • इयन वेस्टब्रुक

बीबीसी । कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो सम्भावना देखा परेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रयोगशालामा गरिएको एक अध्ययनका क्रममा उक्त औषधिले कपालको जरामा रहेका ग्रन्थिमा नाटकीय प्रभाव पार्दै कपाल बढ्नमा सहयोग पुर्‍याएको देखिएको छ।

उक्त औषधिमा भएको यौगिकले मानिसको कपाल बढ्ने प्रक्रियालाई रोकिदिने र तालु खुइलिने समस्या उत्पन्न गराउने एक प्रकारको प्रोटिनलाई नष्ट गरिदिन्छ।

परिवर्तन
यो अनुसन्धान परियोजनाका निर्देशक म्यानचेस्टर विश्वविद्यालयका डा. नेथन हकशोका अनुसार नयाँ नतिजाले कपाल झर्ने र तालु खुइलिने समस्या भएका मानिसहरूको जीवनमा ठूलै परिवर्तन ल्याइदिन सक्छ।

तालु खुइलिने समस्या भएकाहरूका निम्ति हाल दुई प्रकारका औषधिमात्र उपलब्ध छन् :

मिनोक्सिडिल (पुरुष र महिला दुवैका लागि)
फिनास्टेराइड (पुरुषका लागि मात्र)

ती दुवै थरी औषधि विभिन्न देशमा सहज रूपमा उपलब्ध छैनन् र तिनका साइड इफेक्ट पनि हुने गर्छन्। फेरि ती औषधि सधैँजसो प्रभावकारी नहुने हुँदा तिनको प्रयोगको बदलामा मानिसहरूले प्राय: कपाल प्रत्यारोपण विधि अपनाउने गरेका छन्।

पीएलओस बायोलोजी शोध पत्रिकामा प्रकाशित उक्त अनुसन्धान विवरणका अनुसार कपाल प्रत्यारोपण उपचार गराएका चालीस पुरुषहरूको कपालको जराको ग्रन्थिका नमुनाहरूमाथि प्रयोगशालामा विभिन्न परीक्षणहरू गरिएका थिए।

‘थप परीक्षण आवश्यक’

बीबीसीसँग कुरा गर्दै डा हकशोले भने, ‘मानिसहरूमा यो उपचार विधि प्रभावकारी र सुरक्षित हुन्छ कि हुँदैन भनेर क्लिनिकल परीक्षणहरू गर्न आवश्यक छ।’

चर्मरोग विशेषज्ञहरूको ब्रिटिश सङ्गठनका एक जना प्रवक्ताले बीबीसीलाई भने, ‘यो एकदमै चाखलाग्दो अनुसन्धान हो।’

‘अनुसन्धानकर्ताहरूले भने झैँ कपाल झर्नु एक सामान्य प्रकृतिको समस्या हो तर त्यसबाट पीडितको मानसिक स्वास्थ्यमा ठूलै नकारात्मक प्रभाव पर्न सक्छ। पीडितको आत्मविश्वास र आत्मसम्मानको भावनामा नै असर पर्ने गर्छ।’

‘तालु खुइलिने समस्याबाट पीडितहरूका लागि प्रभावकारी उपचार उपलब्ध छैन। हाल उपलब्ध समाधानले सधैँ काम गर्छ नै भन्ने छैन।’

केश
‘यसकारण पनि नयाँ उपचार उत्साहजनक हुने गर्छन् किनकि त्यसबाट प्रभावकारी उपचार सम्भव हुन सक्ने विकल्प मानिसहरूका सामु उपलब्ध हुन सक्छन्।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *