नेपालमा बार्षिक ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिँदै

काठमाडौँ, १० चैत ।  विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक बर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् । नयाँ तथा पुराना विरामीको संख्या भने बार्षिक ६० हजार रहेको अनुमान छ ।

तर गत आर्थिक बर्ष २०७३ /७४मा ३१ हजार ७ सय ६४ जना क्षयरोगका विरामी पत्ता लागि उपचारको पहुँचमा पुगेका थिए । भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रले उपचार पहुँचमा नपुगेका करीब १३ हजार विरामीलाई उपचारको पहुँचमा ल्याउनु अहिलेको मुख्य चुनौती रहेको जनाएको छ । अझ उसले नयाँ तथा पुराना गरी करीब २८ हजार विरामी उपचार बाहिर रहेको जानकारी दिएको छ ।

केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले नेपालमा हराई रहेका क्षयरोगका विरामीहरुलाई खोजी गरी उपचारको पहुँचमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए । उनले आएका बिरामीको उपचार सफलता दर भने ९० प्रतिशत रहेको जानकारी दिए ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकिकृत स्वास्थ्य प्रणाली मार्फत आ.व. २०७३/०७४ मा ४ हजार ३ सय एक्काईस उपचार केन्द्रहरु, ९६ वटा शहरी डट्स केन्द्रबाट उपचार सेवा तथा ६ सय ४ रोग निदान केन्द्र, २७ वटा जीन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशाला मार्फत क्षयरोगकोसेवा प्रदान गरेको थियो । यसैगरी औषधी प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रहरु मार्फत सेवा उपलब्ध गराएको छ ।

निर्देशक डा केसी भन्छन्, ‘नेपालमा औषधी प्रतिरोधी क्षयरोग (एमडीआर) विरामीको संख्या बढ्दो छ । जुन व्यवस्थापनका लागी नेपाल सरकारलाई चुनौतीका रुपमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनको आंकलन अनुसार बार्षिक १ हजार ५ सय एमडीआरका विरामी थपिन्छन् । यी मध्ये बार्षिक ४ सय विरामी पत्ता लगाई उपचारमा ल्याउन सफलता मिलेको छ । यो संख्या अति न्यून हो ।’

त्यसो त उपचारमा रहेका औषधी प्रतिरोधका विरामी मध्ये ४६ प्रतिशतमा फ्लोक्वीलोइन भन्ने एन्टीबायोटिक औषधी प्रतिरोध भएको पाईएको छ । जुन चाही औषधी प्रतिरोधी क्षयरोगका लागि अत्यन्त चुनौतीपूर्ण कुरा हो ।

विश्वभरी प्रत्येक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको छ । यसबर्षको नारा “सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता” भन्ने रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *