अशक्तको मुख स्वास्थ्यका लागि ‘स्पेशल निड्स सेन्टर’ स्थापना गर्दै केडीसी
काठमाडौँ, ९ चैत । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले शारीरिक रुपमा अशक्त तथा अपाङ्गहरुका लागि मुख स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ ।
‘ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स’ नाम दिइएको उक्त केन्द्रमा विभिन्न प्रशारका अपाङ्ग तथा अशक्त व्यक्तिहरुको आवश्यकता अनुसार उपचार हुने केडीसीले जनाएको छ ।
राष्ट्रिय जनगणना २०११ अनुसार नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत व्यक्तिहरु कुनै न कुनै प्रकारका शारीरिक अशक्तता रहेको पाइएको छ ।
केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि ‘स्पेशल कियर’ सहितको उपचार हुनुपर्ने भएको र यस्ता व्यक्तिको मुख स्वास्थ्यको उपचार गर्ने स्पेशल सेन्टर कहि कतै नभएको भन्दै आफूहरुले देशमै पहिलो पटक खोल्न लागेको बताए ।
सेन्टर स्थापनाका लागि केडीसीलाई रोटरी इन्टरनेशनल, रोटरी क्लव अफ काठमाडौँ नर्थ ( डिस्ट्रिक ३२९२), रोटरी क्लव अफ उ कु न्यु ताइपेई सीटी ( डिस्ट्रिक ३४९०)ले सहयोग गर्ने भएको छ ।
‘हामीले स्थापना गर्न लागेको सेन्टरमा अशक्त तथा अपांङ्गहरुका लागि आवश्यक पर्ने सबै किसिमका उपकरण तथा सरसामान हुनेछन् । त्यहि किसिमको तालिमप्राप्त डेन्टल डक्टर तथा हाइजेनिष्टहरु हुनेछन्,’ डा. श्रेष्ठले भने ।
ताइवानी चिकित्सकहरुद्धारा ‘स्पेशल निड्स तालिम’
यसैबीच रोटरी क्लव अफ उ कु ताइपेईबाट मेई चु चौको नेतृत्वमा आएका चार जना दन्त चिकित्सकहरुको टोलीले स्पेशल निड्स (अशक्त तथा अपाङ्ग) भएकाहरुका लागि कसरी उपचार गर्ने भन्नेबारेमा केडीसीका दन्त विशेषज्ञ, दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट गरी ३० जनालाई तालिम प्रदान गरेको छ । गत बुधबारबाट सञ्चालित सो तालिमको आज समापन गरियो ।
यो तालिम पछि अशक्त तथा अपांङ्गको मुख स्वास्थ्यको उपचार कसरी ध्यान दिने ? भन्ने बारेमा उनीहरुलाई थप सहयोग पुग्ने मेई चु चौले बताइन ।
त्यसो त रोटरी क्लव अफ उ कु न्यु ताइपेई सीटीले केडीसीका चिकित्सकलाई ओरल हेल्थ सर्भेको तरिकाबारे समेत प्रशिक्षण दिएको थियो ।
त्यसैगरी पोखरामा कम्युनिटी ओरल हेल्थ तालिम केन्द्र स्थापना गर्ने, ओरल क्यान्सर स्क्रीनिङमा सहयोग पुरयाउने जनाएको छ ।
टोलीका एक सदस्य डा वाङ चुङ युनले मुख स्वास्थ्यमा केडीसीको सेवा प्रभावकारी रहेकै कारण आफ्नो संंस्थाले सहयोग पुरयाएको बताए ।
नेपाली चिकित्सकलाई तालिम दिन ताइवानबाट रोटरियन मेइ चु चौँको नेतृत्वमा डा युन सहित डा चुन फेग ह्वाङ, डा यावो हुई हङ र डा एचसिंङ मिङ युयाङको टोली काठमाडौँ आएको थियो ।
सम्पर्क इमेल : [email protected]