मिर्गौला प्रत्यारोपितबीचको खेलकुद आजैदेखि शुरु, सम्मेलन भोली हुने
काठमाडौँ, २३ फागुन । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुबीच हुँदै आइरहेको प्रत्यारोपण खेलकुद प्रतियोगिताको नवौ संस्करण आजबाट शुरु भएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान ललितपुरको संयुक्त आयोजनामा आजैबाट यो प्रतियोगिता शुरु भएको हो ।
ककखेलकुद कार्यक्रम अन्तर्गत आज विहान देखि बालाजु कराते डोजो प्रतिष्ठानमा प्रत्यारोपितबीच ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
प्रत्यारोपितबीचको बृहत खेलकुद कार्यक्रम भने भोली हुने भएको छ । लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा भोली महिलाहरु तर्फ १०० र २०० मिटरको दौड, पुरुषहरुबीच १००,२०० र ४०० मिटरबीचको दौड प्रतियोगिता हुने भएको छ । यसैगरी सोही खेलमैदानमा प्रत्यारोपण गरेका र नगरेकाहरुबीचको मैत्रीपूर्ण फुटवल खेल समेत हुने भएको प्रत्यारोण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।
दिवसकै अवसर पारी भोली लगनखेलमै राष्ट्रिय मिर्गौला सम्मेलन समेत हुनेभएको छ । प्रत्यारोपित विरामीहरुलाई लक्षित गरि आयोजना गर्न लागिएको सम्मेलनमा चिकित्सक तथा प्रत्यारोपितबीच छलफल आदानप्रदान हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]