चाडपर्व, खानपान र नसर्नेरोगहरू

किशोरकुमार प्रधानांङ्ग

नेपालीहरूको महान चाड दशैं तथा तिहारमा हरेक वर्ष हामीहरुले खानपिन र मनोरंजन गरेर मनाउने गर्दछौँ । यसवेला मनोरंजनको नाममा खानपिनमा धेरै ध्यान पुर्याएको देखिदैन ।

यतिवेला हामीमाझ दोस्रो ठूलो चाड तिहार आइसकेको छ । घरघरमा रोटी मासु मदिराका परिकारहरू बन्न थालिसकेका छन् । जसको अति सेवनले मुटु, क्यान्सर, दम, मधुमेह जस्ता रोग लगाउन मद्धत पुरयाउने र रोग लागिसकेकाहरुलाई थप बिखत गर्ने गर्दछ । यसैले हामी प्रण गरौँ र यस्ता पदार्थहरुको अति प्रयोग नगरौँ । बरु आजैबाट आफ्ना यी बानीहरुलाई सुधार गरौँ ।

१.चुरोट एवं सुर्तीजन्य पदार्थको सेवन नगरौँ : 

सुर्तीजन्य पदार्थ भन्नाले धुंवाको रुपमा सेवन गर्ने चुरोट, विडी, तमांखु,चिलम वा रसको रुपमा खाने सुर्ती ,खैनी, जर्दा, पान मसला आदि हुन । अचेल युवा पुस्तामा विकृतिको रुपमा चुरोट, विडि, खैनी, सुर्ती, गुट्खा, पानमसला जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या दिनहुँ बढि रहेको छ ।

विश्वमा यसको सेवन गर्नेहरुको संख्या करिव १ अरव ३० करोड भन्दा वढि छ, यसमध्ये ६० लाख मानिसहरुको मृत्यु हुने गरेको छ । करिव ६ लाख मानिसहरुको धुम्रपानको धुवांको असरले विभिन्न रोगहरु लागेर मृत्यु  हुने गरेको छ ।

हरेक १० जनामा एक जनाको र प्रत्येक ६ सेकेण्डमा १ जनाको सुर्तीजन्य पदार्थको  असरले नै मृत्यु हुने गरेको छ ।चाडपर्वको समयमा मनोरंजन गर्दा जस्तै तास खेल्दा अन्य कार्य गर्दा प्रयोग झनै यसको अत्यधिक सेवन गर्ने गरिएको छ ।

कतिपयले यसको प्रयोग तनाव घटाउन,साथी भाईसंंग राम्रो सम्वन्ध वढाउन, आफु भन्दा ठुलो ओहदामा वसेको व्यक्तिहरुसंग सम्पर्क राम्रो गर्न, आफुलाई सम्पन्न र वहादुर देखाउन यस्ता पदार्थको प्रयोग गरि रहेको पाईन्छ ।

सुर्तीजन्य पदार्थमा निकोटिन हुने हुँनाले यसको सेवनले लत वसाई दिन्छ । यसमा  करीव ४० प्रकारका रसायनिक तत्वहरू जस्तै : कार्वनमोनोक्साइड, वैन्जपाइरिन, पोलिसाइक्लिक हाइड्रोेकार्वन ,नाइट्रोसामाइन, अलडिहाइड आदिले विभिन्न अंगहरुको क्यान्सर गराउछ भनेर प्रमाणित भई सकेको छ ।

यसको साथै यसको सेवनले मुटू सम्वन्धि रोगहरु,फोक्सो सम्वन्धि दम, व्रोन्काइटिस रोग,मधुमेह,मृगौला सम्वन्धि रोगहरुका साथै अन्य रोगहरु पनि लाग्दछ । त्यसैले यसको सेवन नगर्नेले छुँदै नछुऔँ र सेवन गर्नेहरुले पनि चाडपर्वको बहानामा यसको सेवन बढाउने काम नगरौँ ।

२.अत्यधिक मदिराको सेवन नगरौँ :
जाँड रक्सिको जस्ता मदिराजन्य पदार्थको नियमित वा अत्यधिक सेवनले कलेजोको रोग, उच्च रक्तचाप, मानसिक रोग आदि हुन सक्दछ ।

एक अध्ययन अनुसार दैनिक २५० मि.लि.वियर, १०० मि.लि.वाइन, ३० मि.लि.हिवस्की र ४५ मि.लि.घरेलु रक्सी सेवन गरेमा कलेजोका साथै अन्य अंगहरुमा असर गरि विभिन्न स्वास्थ्य सम्वन्धि समस्याहरु देखिन्छ ।

३.अस्वस्थकर खाना : हामीले दिनहुँ खाने खाना उत्पादन गर्दा अत्यधिक विषादिको प्रयोग, खानाको मात्रा,वनाउने तरिका र सेवन गर्ने विधि अस्वस्थकर देखिन्छ ।

विश्व स्वास्थ्य संघको अनुसार हामीले दैनिक ३ लिटर पानी (आठ सर्भिंङ पानी) ,आधा कप भात वा एक कप आँटाको रोटी (एक सर्भिंङ),एउटा केरा,स्याउ (एक सर्भिंङ),हरियो सागपात (तिन सर्भिंङ),माछा वा मासु वा गेडागुडी (दुई सर्भिंङ) र दुध र दहि (एक सर्भिंङ) नियमित रुपले खाने गर्नु पर्दछ ।

तर दशैको समयमा हामीले यी कुरालाई ध्यान नदिई धेरैनै अस्वस्थकर खानाहरु खाई रहेका हुन्छौ जस्ले गर्दा क्यान्सरका साथै अन्य रोगलाग्ने प्रवल संभावना हुन्छ ।

 अस्वस्थकर खानाहरु निम्न हुन् :

  • धेरै विषादी प्रयोग भएको तरकारी,सागपातहरु ।
  • रेड मिट भन्नाले खसी,वोका,च्याङग्रा,रांगा,वंगुर आदिको मासु धेरै खानु हुँदैन ।
  • धेरै चिल्लो वा वोसो भएको खानेकुरा धेरै खान हुँदैन् ।
  • रेड मिटको वदला कुखुराको मासु,माछा खानु पर्दछ ।
  • पालेको,डढेको मासु खान हुँदैन ।
  • अखाद्य वस्तु मिसाएको खाना खानु हुँदैन ।
  • अखाद्य रंग मिसाएको खानेकुराहरु र मिठाईहरु खान हुँदैन ।
  • नुन दिनको ५ ग्राम भन्दा कम खान पर्दछ, तर एक अध्ययन अनुसार हामीले दिनको ४० ग्राम भन्दा वढि खाने गरेको हुनाले नुनिलो खाना खानु हुँदैन ।
  • गालेको अचारमा धेरै नुन हुने भएकोले यस्ता नुनिलो खानाहरु धेरै खान हुँदैन ।
  • वासी,सडेगलेको वा ढुसी परेको खानाहरु खानु हुँदैन ।ड्ड प्रशस्त मात्रामा हरियो सागपात र फलफुलहरु खानु पर्दछ ।
  • धेरै फास्टफुड र जंक फुड जस्तै चाउचाउ,विस्कुट,पाउरोटि आदि धेरै खान हुँदैन ।
  • नियमित शारिरीक व्यायाम गर्नु पर्दछ ।

यी कुराहरुलाई तिहार जस्ता चाडपर्वमा मात्र ध्यान नदिएर वर्षभरि नै उपरोक्त अनुसार खानपिनमा सुधार गरि पोषिलो सन्तुलित भोजन दिनहुं गर्न पर्दछ,जस्ले गर्दा क्यान्सर लगायत नसर्ने रोगहरुवाट वच्न सकिन्छ ।

# प्रधानांङ्ग भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रमुख पब्लिक हेल्थ अफिसरको रुपमा कार्यरत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *