‘राष्ट्रपतिको उपचार गर्ने क्लिनिकमा सिटामोल पनि छैन !’

अबुजा, २८ असोज । नाइजेरियाका सांसदहरूले राष्ट्रपतिको स्वास्थ्य सेवाका लागि दिइएको रकम सदुपयोग नभएको भन्दै छानविन गर्ने भएका छन् ।

राष्ट्रपतिको स्वास्थ्य सेवा, औषधी, उपकरणहरू लगायतका सेवाका लागि सरकारी कोषबाट अत्यधिक रकम पठाइएको भएपनि त्यो अनुसारको सेवा सुविधा नभएकाले छानविन गर्न लागिएको हो ।

प्रमुख प्रतिपक्षी दल पिपल्स डेमोक्रयाटिक पार्टी (पिडिपी)ले राज्यको रकमबाट राष्ट्रपतिका लागि खोलिएको क्लिनिकको दुरावस्था रहेको भन्दै छानविन गर्न माग गरेको छ ।

साथै क्लिनिकमा कार्यरत कर्मचारीहरूले गरेको क्लिनिकको आर्थिक कारोबारका बारेमा पनि नियमन गर्नु पर्ने उनीहरूको भनाई छ ।
सरकारले गत तीन बर्षमा मात्रै राष्ट्रपति क्लिनिकका लागि औषधी र उपकरण किन्न तीन करोड अमेरिकी डलर उपलब्ध गराएको थियो ।

यसै हप्ताको सुरुमा राष्ट्रपति मोहम्मद बुहारीकी श्रीमती आइसाले अवुजामा रहेको सो क्लिनिकमा उपचार गराउन खोज्दा पर्याप्त उपचार सेवा नभएर त्यहाका चिकित्सकहरूले विदेश जान सुझाव दिएका थिए । तर उनले उपचारका लागि विदेश जान भने अस्वीकार गरेकी थिइन ।

उनले भनिन्, “त्यो क्लिनिकमा एउटा सुईसम्म पनि छैन अन्य उपकरणको त कुरै छाडौँ । औषधी पनि केही छैन, यसले राज्यको स्वास्थ्य सेवाको अवस्था कति दयनीय छ भन्ने झल्काउछ । ”

राष्ट्रपतिकी एक जना छोरी जाहर्राले क्लिनिकमा पारासिटामोल जस्तो सामान्य औषधी समेत नभएको भन्दै अनुसन्धानका लागि आह्वान गरिन ।

उनले क्लिनिकका कर्मचारीको काम र क्लिनिकको अवस्था देखेर त्यति धेरै रकम कहाँ गयो भनेर सोधेकी छन् । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको परिवार र कर्मचारीहरूलाई सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

नाइजेरियामा गत सन् २०१५ मा राष्ट्रपतिय निर्वाचन भएको थियो । रासस एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *