सुर्तीजन्य पदार्थको कर ७० प्रतिशत र खोलमा ९० प्रतिशत चित्र खोइ ?

काठमाडौँ, १६ जेठ ।युवा तथा किशोर किशोरीलाई सुर्तीजन्य पदार्थको कुलतमा जान नदिन सरकारले तत्काल कदम चाल्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सुर्तीजन्य पदार्थमा लगाइएको करको दर कम्तीमा ७० प्रतिशत पुरयाउन र सुर्तीजन्य पदार्थको प्याकेटमा राख्नुपर्ने व्यवस्था भएको ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश तत्काल कार्यान्वनय गर्न जोड दिएका छन् ।

विश्व धूमपानरहित दिवस २०१७ को अवसरमा एक्सन नेपाल, नेपाली हेल्थ डटकम र पिपल्स डेन्टल कलेजको संयुक्त आयोजनामा भएको बृहत अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद महिला बालबालिका समाजकल्याण तथा जेष्ठ नागरिक समितिका सभापति रन्जु झा ठाकुरले फ्रेम वर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल(एफसीटीसी)मा हस्ताक्षर अवस्था र विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएको नाताले सुर्तीजन्य पदार्थमा तोकिए बमोजिम अर्थात कम्तिमा ७० प्रतिशत कर पुरयाउनु पर्ने बताइन् ।

उनले सुर्तीजन्य पदार्थका प्याकेटमा राख्नुपर्ने चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशको कार्यान्वनयलाई जोड दिइन् ।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न नेपालले उत्कृष्ठ कानून बनाएपनि कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे ।

‘सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न हामीले ९० प्रतिशत चेतावनीमुलक चित्रले छोप्नुपर्ने व्यवस्था मिलायौँ तर त्यसको कार्यान्वनय अहिलेसम्म हुन सकेको छैन् । खुल्ला विक्रीलाई निषेध गरियो तर त्यो पनि कार्यन्वयनमा आएको छैन् । गर्भवती १८ बर्ष मुनिका बालबालिकालाई खरीदमा रोक लगाइयो । सार्वजनिक स्थानमा धूमपान गर्न बन्देज गरियो तर त्यो पनि राम्ररी कार्यान्वयन हुन सकेको छैन्,’ पूर्वमन्त्री अधिकारीले भने ।आफ्नो पालामा सुर्ती करको दर तुलनात्मक रुपमा बढेपनि त्यसपछि पुन सुस्ताएको दावी गरे ।

यता स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सुर्ती नियन्त्रणका लागि नेपाल सरकारको कानून विश्वमै उत्कृष्ठ मानिएको भन्दै अव कार्यान्वनयको चरणमा अघि बढेको बताए । ‘केही प्राविधिक कारणले कानून कार्यान्वनयमा ढिलाई भएको थियो,’ खड्काले भने ‘तर अव यसको कार्यान्वनय गर्ने गरी सरकारले आफ्नो कदम अघि बढाएको छ । ९० प्रतिशत भागमा चित्रछाप्ने कुरा सम्भवत साउनसम्ममा कार्यान्वनय आउला ।’

कुल जनसंख्याको १८. ५ प्रतिशत जनसंख्याले धूमपान तथा सुर्ती सेवन गर्ने भन्दै उनले दक्षिण एसियामै महिला सेवनकर्ता बढी ( १५ प्रतिशत) भएको देशमा गनिएको बताए । खडकाले सरकारले नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमलाई सहयोग पुरयाउन म स्वस्थ मेरो देश स्वस्थ मेरो बर्ष अभियान सुरु गरेको बताए ।

पछिल्लो समय नेपाली युवाहरुमा पनि हृदयघात लगायत मुटुको समस्या अत्यधिक देखिन थालेको भन्दै अर्का बक्ता बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले त्यसको प्रमुख कारक मानिने सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्नु अहिलेको टडकारो आवश्यकता रहेको बताए । ‘अहिले म कहाँ पनि ३० ३५ बर्षका युवाहरु हृदयघात तथा मुटुरोगको समस्या लिएर आउने गरेका छन् । यसको मुख्य कारक धूमपान नै हो । त्यसैले अव युथहरुमा धूमपानको सेवनले हुने असरको बारेमा डर पैदा गर्नुपर्नेछ ।’

धेरैलाई सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर हुन्छ भन्ने मात्रै थाह भएको भन्दै उनले हृदयघातको पहिलो कारक सुर्तीजन्य पदार्थको प्रयोग हो भन्ने कुरा थाह नभएको बताए । ‘दुई खिल्ली चुरोट सेवन गर्नेलाई पनि हृदयघात हुनसक्छ, कोलेस्टेरोल बढाउछ । अन्य मुटुरोग लाग्न सक्छ । त्यसैले यसको प्रयोग गर्दै नगरौँ,’ डा. अनिलले भने ।

सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था, गरिएका प्रयास र घटाउने उपायका बारेमा प्रस्तुति राख्दै एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले नेपालमा अहिलेको आवश्यकता सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित सन्देश राख्नुपर्ने व्यवस्थाको कार्यान्वयन हो भन्दै करको दरमा पनि भारी मात्रामा बढाउनुपर्ने बताए ।

विभिन्न देशको उदाहरण दिदै उनले करको दरमा बृद्धि हुँदा मुल्य बढी हुने र युवा तथा किशोरहरुले खरीद गर्न नसक्ने र सेवन दरमा कमी हुने तर राजश्वमा बृद्धि हुने भएको तथा चेतावनीमुलक सन्देश राख्दा त्यसले प्रयोग गर्ने मनलाई परिवर्तन गर्ने बताए । उनले नेपालमा सुर्ती नियन्त्रणका लागि उत्कृष्ठ कानून बनाएपनि उद्योगीको दवावमा परेर जिम्मेबार अधिकारीहरुले कार्यान्वनयमा ढिलासुस्ती गरेको आरोप लगाए ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक बर्ष १५ हजार बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुने गरेको छ । त्यस्तै हरेक बर्ष संसारभर ७० हजार बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवनकै कारण ज्यान फाल्ने गरेका छन् ।

कलिलो उमेरमै सुर्तीको कुलतमा लागेर उत्पादनशील उमेरमा गम्भीर रोकको शिकार हुने युवाको संख्या बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले यसवर्षको वल्र्ड नो टोवाको डे को नारा ‘टोवाको : अ थे्रट अफ डेभलपमेन्ट’ अर्थात सुर्तीजन्य पदार्थ विकासको बाधक भन्ने तय गरेको छ । डव्लुएचओले हरेक बर्ष ३१ मे मा विश्व धूमपान रहित दिवस मनाउने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *