आयातित औषधिको कारोबार आफै गर्ने ‘मुड’मा सरकार

काठमाडौं, ३० बैशाख । व्यापारीहरुले आयातित औषधिमा सयौँ गुणा नाफा लिएको भन्दै सरकारले यस्ता औषधी आफै किनबेच गर्ने बताएको छ ।

विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको गठित सुझाव समितिले दिएको सुझावको आधारमा यस्तो निर्णय गर्न लागको हो । समितिले दिएको सुझावमा यसरी औषधी बेच्दा ५० प्रतिशतसम्म सस्तो पर्न सक्ने उल्लेख छ ।

सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधीहरुमा स्वदेशी उद्योगकै औषधी प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । उनले स्वदेशी औषधीहरुलाई प्राथमिकता दिदाँ औषधीको मुल्य सस्तो हुनु पर्ने, पर्याप्त गुणस्तरको हुनु पर्ने र नेपाली उद्योगहरुको सिन्डीकेट तथा एकाधिकार हुन नदिने तर्फ पनि मन्त्रालय सचेत रहेको बताए ।

अहिलेसम्म स्वदेशी कतिपय औषधीहरु विदेशी भन्दा महंगो हुने गरेकोमा सवैतिर स्वदेशी नै प्रयोग गर्न थालेपछि खपत बढेर स्वदेशीपनि सस्तो हुने मन्त्रालयको विश्वास छ । सुझाव समितिले नेपाली बजारमा बिक्री हुँदै आएका आयातित औषधिहरुमा २२ सय प्रतिशतसम्म बढी मुल्य राखेर विक्रि गर्ने गरेको पाइएको उल्लेख गरेको थियो ।

क्यान्सर, मिगौला लगायत कडा रोगका औषधिहरु उच्च मूल्यमा बेच्ने गरेको समितिले जनाएको छ । समितिले औषधिको मनलाग्दी मूल्य लिएको फेला पारेपछि स्वास्थ्य मन्त्री थापाको प्रस्ताव अनुसार औषधिको मूल्य निर्धारण गनै र सुपथ मुल्यमा सरकारले खरिद बिक्रिबितरण गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्ले सोमबार गठन गरेको समितिले औषधिको मुल्य घटाउन र औषधिको बिक्रीवितरणमा रहेका विकृति हटाउन सहयोग पुग्ने मन्त्री थापाले विश्वास व्यक्त गरे ।समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेश गर्ने उनले बताए ।

नागरिकलाई आवश्यक पर्ने महँगा औषधिलाई सरकारले सस्तोदरमा अन्तर्राष्ट्रिय बजारबाट सोझै खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका विषयमा पनि सुझाव दिने समितिको कार्यक्षेत्र तोकिएको छ ।

नेपाल सरकारको कुनै निकाय मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधी खरिद गर्ने मन्त्रालयको योजना छ । मन्त्री थापाले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा भनिएको छ, “आमनागरिकलाई अत्यावश्यक महँगा औषधिहरु सबै सरकारी अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका लागि उच्चस्तरीय अध्ययन तथा सुझाव समिति बनाउन अनुरोध गर्दछु ।”

सरकारको यो निर्णयको गत विहीबार मात्रै औषधि आयात कर्तासंघले विरोध जनाएको थियो । उनीहरुले शुक्रबार मात्रै विभागका महानिर्देशक नारायणप्रसाद ढकाल मार्फत ज्ञापन पत्र बुझाएका थिए ।

नेपालमा आधुनिक औषधिको उत्पादन निजिस्तरमा केमि ड्रग प्रा.लि.को बि. सं. २०२६ सालमा स्थापना सँगसँगै शुरु भएको हो भने बि.सं.२०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भई औषधि उत्पादन कार्यमा सुरु गरिएको थियो ।

नेपालमा अहिले ४९ वटा आधुनिक मानवका औषधि उद्योग, ८ वटा पशुपंक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग संचालनमा छन् । आयाततर्फ २९४ आधुनिक मानवका औषधि उद्योग, १३ बटा पशुपंक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेेदिक औषधि उद्योग दर्ता रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *