नर्सहरुले भने, ‘सीपीडी तालिम अनिवार्य हुनुपर्‍यो’

काठमाडौँ, १४ बैशाख । नर्सहरुले पेशागत दक्षतालाई निरन्तर अपडेट हुनुपर्ने बताएका छन् । उनीहरुले आफूहरुलाई निरन्तर पेशागत विकास अर्थात कन्टिनिउ प्रोफेसनल्स डेभलपमेन्ट(सीपीडी) तालिम अनिवार्य व्यवस्था सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ एसोशिएसनको संयुक्त आयोजनामा गरिएको एक अनुसन्धानले स्वास्थ्य क्षेत्रको फेरिदो पद्धती तथा विकास क्रममा आफू अपडेट हुनका लागि सीपीडी अनिवार्य भएको बताएका हुन् । उक्त अनुसन्धालाई बोनमाउथ युनिभर्सिटी तथा लिभरपुल जोनमोरेस युनिभर्सिटीले समेत सघाएका थिए ।

झण्डै डेढ बर्ष लगाएर गरिएको फोकस ग्रुप रिसर्चको प्रतिवेदन विहीबार सार्वजनिक गर्ने क्रममा अनुसन्धानकर्ता डा विभा सिम्खडाले नर्सहरुले सीपीडी तालिम अनिवार्य लागू गर्न मत जाहेर गरेको बताइन् । उनले रोजगारीका लागि विदेश जान होस या स्वदेशमै रहेर सेवाका गर्नका लागि सीपीडी अनिवार्य रहेको उनीहरु(नर्सहरु)को बुझाई रहेको उल्लेख गरिन् । तर कतिपयले सीपीडी तालिम कसले सञ्चालन गर्ने, यसको मान्यता के हुने ? तालिम कति क्रेडिट आवरको हुने ? तालिमको समय कसरी व्यवस्थापन गर्ने भन्नेकुरामा जिज्ञासा राखेको डा सिंम्खडाले जानकारी दिइन् ।

अर्का अनुसन्धान कर्ता डा सुजन मरहठ्ठाले अनुसन्धानका लागि ‘फोकसग्रुप डिसकसन’ गरेको भन्दै यसले लाइसेन्स नविकरण गर्ने बेलामा सीपीडी अनिवार्य हुनुपर्नेमा नर्सहरुको एकमत रहेको बताए । नर्सहरुलाई विभिन्न आठ समूहमा विभाजन गरि भएको ‘फोकस ग्रुप डिसकसन’को निचोड सीपीडी अनिवार्य चाहिने नै भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल नर्सिङ परिषदका अध्यक्ष प्रा चन्द्रकला शर्माले नर्सको पेशागत दक्षता अभिवृद्धि आवश्यक रहेको भन्दै अध्ययनले समेत सोही नतिजा देखाएको बताइन् । ‘अव सरकारसंग मिलेर कुन मोडलमा यसलाई अघि बढाउने भन्नेमा हामी केन्द्रीत हुनेछौँ,’ उनले भनिन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा तारा पोखरेलले पेशागत दक्षताका लागि सीपीडी अनिवार्य रहेको भन्दै अहिलेसम्मको लाईसेन्स नविकरणका बेला गरिने प्रावधानलाई परिवर्तन गर्नुपर्ने औल्याइन । ‘६ बर्ष अघि लिएको लाइसेन्सको अवधी सकिदासम्म उसले के कति अपडेट गरयो ? वा गरेको छैन् त्यसको जानकारी हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘यसले पेशागत दक्षता बढ्छ र सेवामा सकारात्मक प्रभाव पार्छ ।’

कार्यक्रममा विभिन्न नर्सिङ कलेज, अस्पताल, तथा संघसंस्थाका नर्सिङ प्रतिनिधीहरुले सुझाव राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *