चैते दशैँको ‘बाग्लुङे मेला’मा स्वास्थ्य बीमाको प्रवर्द्धन

बाग्लुङ, २४ चैत । चैते दशैंका बेला कालिका मन्दिर परिषरमा लाग्ने बृहत मेलालाई स्वास्थ्य बीमा सञ्चालन गर्दै आएको सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति जिल्ला कार्यालय बाग्लुङले स्वास्थ्य बीमा कार्यक्रम प्रवर्द्धन गर्ने मौका छोपेको छ ।
दशै मेला अवधीभर कालिका मन्दिर गेटमा आफ्नो स्टल राखि समितिले मेला भर्न आउनेहरुलाई स्वास्थ्य बीमाका बारेमा जानकारी गराएको छ । पाँच दिनसम्म चलेको मेलामा लाखौको उपस्थिति थियो । हजारौँले बीमा कार्यक्रमको स्टल अवलोकन गरेका थिए ।
समितिका जिल्ला प्रवन्धक जीवलाल खरेलले मुलद्धारमा स्टल राखी मेलामा आएका जिल्लाबासीलाई स्वास्थ्य बीमा बारे जानकारी गराइएको बताए । उनले स्टलमा छिर्न नभ्याएकाहरुलाई मेलामा बज्ने गरेको माइकबाट सूचना प्रशारित गरिएको जानकारी दिए ।
बाग्लुङ जिल्ला स्वास्थ्य बीमा पाईलटिङ गर्ने जिल्ला भएपनि कतिपयलाई यसबारेमा अझै थाह छैन । थाह भएका भनिएकाहरुमध्ये पनि कतिलाई भ्रम छ । त्यहि जानकारी दिन र भ्रम चिर्नका लागि हामीले चैते दशै मेलालाई सदुपयोग गरयौँ ,’ प्रवन्धक खरेलले भने ।

उनले आफ्नो स्टलमा आएकाहरु धेरै व्यक्तिले स्वास्थ्य बीमाका बारेमा रहेका भ्रमबाट मुक्त भएको दावी गरे । ‘धेरैलाई थाह रहेनछन, भएकालाई पनि भ्रम रहेछ । हामीले कन्भिन्स गरयौँ । अव दर्ताको क्रम बढनेछ,’ उनले भने ।मेलाको स्टलमा दर्ता सहयोगी तुलसा रेग्मी, दर्ता अधिकृत नारायण पौडेल सहित प्रवन्धक खरेल आफै खटिएका थिए ।
बाग्लुङमा स्वास्थ्य बीमा कार्यक्रममा गत असार देखि सुरु भएको हो । उपचार सेवा भने भदौबाट मात्रै दिन थालिएको हो । समितिका अनुसार हालसम्म एक हजार ९६० परिवारका ९ हजार ५० जनाले बीमा कार्यक्रममा आफ्नो नाम दर्ता गराएका छन् । तीमध्ये १ हजार ७ सय बढीले उपचार सेवा लिइसकेका छन् ।
बीमाको उपचार गर्न स्थानीय तहमा बुर्तिवाङ, कुस्मीसेरा र गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र सहित जिल्लामा धवलागिरी अञ्चल अस्पताल तोकिएको छ । ती बाहेक मणिपाल शिक्षण अस्पताल पोखरा, लुम्विनी मेडिकल कलेज पाल्पा, सहित काठमाडौँका केन्द्रीय अस्पतालमा समेत उपचारका लागि रिफर गरिएको छ ।
सम्पर्क इमेल : [email protected]