पितृशोकमा रहँदा पनि ‘रगत व्यवस्थापन’ नछाडेका प्रेमसागर


काठमाडौँ, १५ चैत । सामान्य त पितृशोकमा परेका व्यक्तिलाई आउने फोन दुख व्यक्त गर्नकै लागि हो भन्ने ठानिन्छ । तर स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई आउने फोनभने ठिक उल्टा जस्तो देखिएको छ ।

बुबाको निधन पछि क्रियामा बसेका कर्मचार्यको मोवाइलमा विहान देखि साझँसम्म आउने अपरिचित आवाजहरु उनका लागि दुख व्यक्त गर्न नभई आफ्नै दुख व्यक्त गर्नका लागि हुने गर्दछन् । अर्थात रगत नपाएको दुख ।

‘विहानै देखि रगत पाइएन, दुख पाइयो भनेर फोन आईरहन्छ । मैले फोनबाटै त्यसको व्यवस्थापन गर्दिने गरेको छु ।’ नवौँ दिनको क्रियाकर्ममा रहेका कर्माचार्यले भने, ‘म दुखमा परेपनि अहिलेसम्म कसैको काम रोकिएको छैन् ।’

हुनपनि मंगलबार आधा घण्टाबीचमा आएको तीनवटा फोनकलमा रगत नपाएकै गुनासो थियो । र उनले ती तीनवटै गुनासो सम्वोधन गरिदिएका थिए ।

१६ बर्षकै उमेर देखि रक्तदान कार्यमा लागेका कर्माचार्यले अहिलेसम्म १४९ पटक रक्तदान गरिसकेका छन् । त्यो भन्दा ठूलोकुरा उनले रगत नपाएका अप्ठेरोमा परेका परिचित अपरिचितहरुलाई निश्वार्थ ढंगले रगत उपलव्ध गराईदिदै आएका छन् ।

‘कतिले व्लड बैंकमा रगत नपाएर समस्या परेपछि फोन गर्ने गर्छन । कतिले सुरुमै मसंग सम्पर्कमा आउने गर्छन् । त्यो क्रम अहिले पनि जारी छ । फोन गर्ने अधिकांश नयाँ हुन्छन, अहिले म दुखमा भएको कुरा उनीहरुलाई थाह छैन् । मैले पनि आफ्नो अवस्थाको जानकारी नगराई सकेको मद्धत गरिरहेको छु ।’

कर्माचार्यले आफू दुखमा परेपनि अरुले दुख नपाओस भनेरै सेवालाई निरन्तरता दिएको बताए । ‘मसंग अहिले पनि दिनहुँ २० / २५ वटा फोन आउँछ । ती फोन सहज रुपमा रगत नपाएरै आउने हो । मलाई भनेपछि समाधान हुन्छ भन्ने आसले नै फोन गर्नेहुन् । त्यसैले मैले जसरी पनि उनीहरुको समस्या समाधान गरिदिनुपर्छ भन्ने लाग्छ । र बुबाप्रतिको सच्चा श्रद्धान्जली पनि त्यही हुन्छ जस्तो लाग्छ,’ छेउमा राखिएको बुबाको तस्बिर हेर्दै कर्माचार्यले भने ।

बुबाको निधनपछि आफैले फोन नउठाएको एक पटक मात्र
आफ्ना ८४ बर्षीय बुबा प्रेमपूर्ण कर्माचार्यको निधन भएयता उनले फोन नउठाएको एक पटक मात्रै हो । ‘आर्यघाटमा बुबाको अन्तिम संस्कार हुँदैथियो । बाहिरबाट भर्खरै आएकी बहिनी रोइरहेकी थिइ । उसलाई पनि सम्हाल्नुपरयो । त्यतिवेला मैले आफ्नो फोन साथीलाई उठाउन लगाईदिएँ । त्यसपछि आएका रगत सम्वन्धी हरेक फोन उठाउने गरेको छु र समाधान गरिदिएको छु,’ कर्माचार्यले भने ।

बुबाको क्रियाकर्ममा श्रीमती माया, ७० बर्षीया आमा सानुमैया, भाई प्रितम, बुहारी मिना, दिदी श्यामबदन पनि बागबजारस्थित आफ्नै निवासमा बसेका छन् । दुबईमा रहेका बहिनी कल्पनाबाबा र ज्वाई एलम्वर पनि यतिवेला आफ्नो दुखमा साथ दिन आएका छन् । तर कर्माचार्यको दैनिकी आफ्नो दुख पन्छाएर अरुको दुखमा मलमपट्टी गर्नुमै केन्द्रीत छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *