‘कम्युनिटी पोष्टिङ’मा ‘रेजिडेन्ट डाक्टर’को अझै असन्तुष्टी ?

काठमाडौँ, ५ फागुन । रेजिडेन्ट डाक्टरलाई जिल्लामा पठाएर विशेषज्ञ सेवा दिने स्वास्थ्य मन्त्रालयको योजनाले अझै मुर्त रुप लिन सकेको छैन् । रेजिडेन्ट डाक्टरहरुले मन्त्रालयको तयारी अपूर्ण रहेको भन्दै जिल्ला जान आनाकानी गरेपछि योजना अलपत्र परेको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले १ फागुन देखि विशेषज्ञ नपुगेका जिल्लाहरुमा कम्युनिटी पोष्टिङ अन्तगर्त रेजिडेन्ट डाक्टरलाई खटाउने योजना अघि सारेका थिए । उनले त्यतिवेला सर्लाही , धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङमा त्यस्ता चिकित्सकलाई खटाउने योजना बताएका थिए ।तर अहिलेसम्म ती मध्ये केही स्थानमा मात्रै रेजिडेन्ट पुग्न सकेका छन् ।

‘चैत लागेपछि धादिङमा ६ जना गएका छन्, त्रिशुलीमा २ जना पठाएको छु । सर्लाही भने अवस्था केही प्रतिकुल भएका कारण पठाउन सकिएको छैन् ,’  न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले जानकारी दिए ।

यता आईओएमका डीन प्राडा जगदीश अग्रवालले आफ्नो र केही मन्त्रालयको तयारी नपुग्दा कार्यक्रमले गति लिन नसकेको स्वीकारे । ‘हामीले एक लट त पठायौँ तर जिल्लामा गएका विद्यार्थीहरुले आवश्यक उपकरण नभएको, अव्जरभेसन गर्ने व्यक्ति नभएकोले अप्ठेरो परेको गुनासो गरेका छन् । यसलाई मन्त्रालयले पनि गम्भीरतापुर्वक लिनुपर्छ ।’

यता रेजिडेन्ट विद्यार्थीहरुले विना तयारी आफूलाई जिल्लामा पठाएको भन्दै आपत्ती जनाएका छन् । आफूहरु पढाईको क्रममा रहेको र शिक्षकको निगरानीमा कामहरु गरिरहेको भन्दै बिना निगरानी जिल्लामा गएर पनि केही गर्न नसक्ने बताएका छन् । उनीहरुले अस्पतालमा न्यूनतम उपकरण र पुर्वाधार नबनाई विशेषज्ञको नाममा आफूहरुलाई खटाउनु आफूहरुको सिकाईमा डिस्टर्व र जनता माथि भ्रम मात्रै भएको दावी गरेका छन् ।

नेशनल रेजिडेन्ट डक्टर एसोसिएसन(एनआरडीए)का अध्यक्ष डा लिजन महर्जनले भन्छन्, ‘जिल्लामा जाँदा न हाम्रो सुपरभिजन गर्ने व्यक्ति हुनुहुन्छ । न हामीले गर्न सक्ने कामका लागि आवश्यक उपकरण । जिल्लाका अस्पतालमा नाकबाट रगत बग्दा रोक्ने सामान्य उपकरण औषधि समेत नहुँदो रहेछ । हामी गएर के गर्ने ?’

उनले आइओएमबाट पहिलो लटमा दाङ पुगेका केही रेजिडेन्टहरु ६ हप्ता पछि फर्केको भन्दै अव अर्को ग्रुप जानु अघि मन्त्रालयसंग गम्भीर छलफल गर्ने योजना रहेको बताए ।

आफूहरु विशेषज्ञ अध्ययन गरेका विद्यार्थी भएको र एमडीजीपीको सुपरभिजनमा रहेका काम गर्न नमिल्ने भन्दै उपचार गर्दा समस्या आएमा जिम्मा लिने व्यक्ति समेत नभएको आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *