आज देखि २५ जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाईदै


काठमाडौँ, ३० फागुन । सरकारले हात्तीपाईले ( फाइलेरिया) रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको पहिलो चरण आजबाट २५ जिल्लामा सुरु गर्दैछ । दोस्रो चरणको कार्यक्रम भने १७, १८ र १९ चैतका दिन बाँकी पाँच जिल्लामा गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आजबाट अर्थात पहिलो चरणमा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ रहेका छन् । त्यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कन्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुलामा पनि आजबाट औषधि खुवाईदै छ ।

हात्तीपाईले रोग विरुद्धको औषधिको रुपमा हरेक दुई बर्ष माथिका व्यक्तिलाई डीइसी (डाईइथाइल कार्बामाजिन) चक्की र अलबेन्डाजोल चक्की खुवाईने छ ।

महाशाखाका फोलक पर्सन तुलसी अधिकारीका अनुसार यसपटक दुई चरणमा गरेर एक करोड ८ लाख १३ हजार ७२६ जना व्यक्तिलाई हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

त्यसका लागि ५४ हजार ६६६ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिनेछ । त्यस्तै १० हजार ४४९ जना स्वास्थ्यकर्मी खटिनेछन् । महाशाखाले आम औषधि सेवन कार्य, सर्भिलेन्स कार्य र हाईड्रोशिल अप्रेसन कार्यका लागि भन्दै करीब ४० करोड रकम विनियोजन गरेको जनाएको छ ।

कस्ता व्यक्तिले खानु हुँदैन औषधि ?
हात्ती पाईले रोग विरुद्धको औषधि दुई बर्ष नपुगेका केटाकेटीहरु, गर्भवती र ७ दिनसम्मका सुत्ेकरी, छारे रोगी तथा सिकिस्त विरामीहरुले खानु हुँदैन । यो औषधि खाली पेटमा पनि खानु हुँदैन । अरु सबै व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले भने अनुसार खाना संगै वा खाना पछि खान मिल्छ ।

औषधिले असर गर्छ ?
औषधिको सेवन गरेपछि हात्तीपालेको परिजिवी शरीरमा भएमा कसै कसैमा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिगाटा लाग्ने, वाक वाकी लाग्ने जस्ता सामान्य असर हुन सक्दछ । यस्ता असरहरु विना उपचार आफै केही समयमा ठीक भएर जान्छन् । यदि ठीक नभएमा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *