थप आठ जिल्लामा ‘पेन प्याकेज’ कार्यक्रम सुरु गर्ने मन्त्रालयको तयारी (जिल्लाको सूचि सहित)

काठमाडौँ, १२ फागुन । नसर्ने रोगको जोखिम नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन ( डव्लुएचओ)को सहयोगमा सरकारले अघि सारेको योजना ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डीजीज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागु हुने तयारीमा छ । यसअघि स्वास्थ्य मन्त्रालयले कैलाली र इलाममा यो कार्यक्रम सुरु गरिसकेको छ ।

कार्यक्रम लागु हुने अवस्थामा पुगेका जिल्लाहरुमा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । स्वास्थ्य मन्त्री गगन थापाले थप विहीबार ट्वीट गर्दै पेन प्याकेज कार्यक्रम थप आठ जिल्लामा लागू हुने तयारीमा रहेको जनाएका छन् ।

उनले भनेका छन्, ‘यसबर्ष दुई जिल्लामा सुरु गर्ने र आगामी पाँच बर्ष भित्रमा ५ सय स्थानबाट सेवा दिने पूर्व योजनालाई खारेज गर्दै यसैबर्ष ५ सय स्थानबाट यो कार्यक्रम सुरु गर्ने भन्दा महत्वकांक्षी योजनाको रुपमा हेरिएको थियो तर अहिले त्यसका लागि आवश्यक तयारी पुरा भई कार्यान्वयन चरणमा पुगेका छाँ।’  उनले आगामी ३ बर्ष भित्र देशका सबै स्वास्थ्य संस्थाबाट यो कार्यक्रम लागू हुने बताए ।

डव्लुएचओको पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र स्वासप्रस्वास ९ सीओपीडी० रोग नियन्त्रण गर्ने योजना भएपनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमूना कार्यक्रम सुरु गरेको छ । तर अब सुरु हुने अन्य जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइने तयारी भएको प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखा प्रमुख मोहम्मद दाउदले बताए ।

‘अहिले इलाम र कैलालीमा यो कार्यक्रमका लागि ५० ५० लाख रुपैयाँ पठाइएको छ । बाँकी जिल्लामा पनि सोही अुनसार बजेट पठाइनेछ । त्यसका लागि आवश्यक कोअर्डिनेशन भएको छ,’ दाउदले भने ।

डव्लुएचओको प्रतिवेदन अनुसार नेपालमा सन २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशत रहेको थियो तर सन् २०१४ मा पुग्दा यो प्रतिशत बढेर ६० पुगेको छ । संसारमै तिब्ररुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्न डव्लुएचओले यो कार्यक्रम अघि सारेको हो । यो कार्यक्रममा नसर्ने रोगको जोखिम न्युनिकरणका उपाय, रोकथाम र उपचार लगायतको प्याकेज रहेको छ ।

‘पेन प्याकेज कार्यक्रममा मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रम छ । यदि कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरि नसक्ने अवस्था हुँनासाथ प्राथमिक स्वास्थ्यकेन्द्रमा रिफर गर्छ । त्यहाँका चिकित्सकले रोग पत्ता लगाईसकेपछि औषधिको व्यवस्था उनीहरुकै सिफारिसमा स्वास्थ्यचौकीबाट उपलव्ध हुन्छ,’ निर्देशक दाउदले भने ।

उनले यो योजनामा नसर्ने रोगको उपचार, यसका जोखिम, बच्ने उपायका बारेमा सम्पूर्ण प्याकेज रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *