नेपालमा बार्षिक ३ लाख २३ हजार गर्भपतन

काठमाडौँ, २८ माघ । नेपालमा बार्षिक ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेको एक अध्ययनले देखाएको छ । सरकारी तथ्यांकले भने अहिले पनि गर्भपतन गराउनेको संख्या बार्षिक रुपमा ९० हजार मात्रै छ ।

बाताबरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा र अमेरिकास्थित गुडामाकर इन्स्टिचूट नामक संस्थाले संयुक्त रुपमा गरेकोे अध्ययनले यस्तो नतिजा देखाएको हो ।

शुक्रबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा कृपाका सह निर्देशक डा महेश पुरीले प्रजनन उमेर समूहका (१५ देखी ४९ बर्ष)का महिलाहरुले सन २०१४ भित्र बैध तथा अवैध रुपमा गरेका गर्भपतनको राष्ट्रिय तत्यांक प्रस्तुत गरेको बताए ।

उनले गर्भपतन गराउनेमध्ये १३७ हजार (४२ प्रतिशत) सरकारद्धारा सूचिकृत संस्थाबाट र १ लाख ८६ हजार एक सय (५८ प्रतिशत) सूचिकृत नभएका संस्थाबाट गर्भपतन गराउने गरेको जानकारी दिए ।

गर्भपतन गर्नेमा सबैभन्दा बढी मध्यमाञ्चलनमा १ लाख ६३ हजार ९१० जना र सबैभन्दा कम सुदुरपश्चिममाञ्चलमा १५ हजार ११५ जनाले गर्भपतन गराएको पाइएको थियो । अधययन अनुसार पश्चिमाञ्चलले एक बर्षमा ४८ हजार ९४८ जना पूर्वाञ्चलमा ६७ हजार २९७ जना र मध्यपश्चिममा २७ हजार ८३० जनाले गर्भपतन गराएका थिए ।

त्यस्तै सूचिकृत संस्थामध्ये सरकारीमा ३७ प्रतिशतले निजीमा २९ प्रतिशत र गैरसरकारी संस्थाद्धारा सञ्चालित संस्थामा ३४ प्रतिशतले गर्भपतन गराएका थिए ।

डा पुरीले गर्भपतन गराएकामध्ये औषत ५० प्रतिशत महिलाले अनिच्छुक गर्भवती भएपछि गर्भपतन गराएको पाइएको छ । सो संख्या पनि मध्यमाञ्चलनमा बढी देखिएको छ ।

संस्थाका निर्देशक आनन्द तामाङले भौगोलिक र विकास क्षेत्र मिलाएर छनौट भएको देशका २७ वटा जिल्लाका स्वास्थ्य संस्था प्रमुख, गर्भपतन सेवा प्रदायक निकायका प्रमुख , मेडिकल कलेज, अन्चल तथा क्षेत्रीय अस्पताल, एनजीओले सञ्चालन गरेका अस्पताल, निजी अस्पताल आदिका जिम्मेबार व्यक्तिहरुसंग लिइएको तथ्यांक भन्दै डा पुरीले गर्भपतनको दर पनि विकास क्ष्ँोत्र अनुसार फरक फरक रहेको बताए ।

स्वास्थ्य सेवा विभाग परिबार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले गर्भपतनको अवस्था भयावह देखिएको भन्दै परिवार नियोजनका साधन अपनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘गर्भपतन महिलाको अधिकार पनि हो । यसलाई राज्यले कानूनी मान्यता दिएको छ तर हाम्रो जोड गर्भपतन गर्ने बढाउनु होइन कि परिवार नियोजनका साधन प्रयोग गर्ने बढाउनुमा छ ।’

अझै असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढी

यसैबीच गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ ।

नेपालमा सन् २०१४ मा करिब तीन लाख २३ हजार गर्भपतन भएकामा ४२ प्रतिशतले मात्र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट गर्भपतन सेवा लिएको एक अध्ययनले देखाएको छ ।

नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता प्राप्त गरे तापनि सन् २००४ देखि मात्र गर्भपतन सेवा सुरु भएको थियो । हालसम्म स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट करिब आठ लाख ५० हजार महिलाले गर्भपतन सेवा उपभोग गरेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

कृपाका अनुसार सन् २०१४ मा करिब १० लाख ४८ हजार प्रजनन उमेर समूह (१५ देखि १९ वर्ष) महिला गर्भवती भएका थिए । तीमध्ये करिब तीन लाख २३ हजार महिलाले मात्र गर्भपतन सेवा लिएका अध्ययनबाट देखिएको छ ।

हिमाल, पहाड, मधेस सबै क्षेत्रमा प्रतिनिधित्व हुने गरी २७ जिल्लाका ३८६ स्वास्थ्य संस्थामा सो अध्ययन सम्पन्न गरिएको थियो । सबैभन्दा कम अनिच्छित गर्भपतन सेवा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र सबैभन्दा वढी मध्यमाञ्चल विकास क्षेत्रमा सेवा लिएका अध्ययनको नतिजामा देखिएको छ ।

अध्ययनमा प्रमुख अध्येता डा महेश पुरीले थोरै बच्चाको चाहना राख्नु, शिक्षाको स्तर माथि हुनु, विवाह उमेर बढी हुनुजस्ता कारण मध्यमाञ्चल विकास क्षेत्रमा अनिच्छित गर्भपतन सेवा लिनेको सङ्ख्या बढी रहेको जानकारी दिए ।

महिलाको मञ्जुरीमा १२ हप्तासम्म गर्भ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा महिलाको जीवन खतरामा पर्न गएमा गर्भपतन गर्न पाइने प्रावधान कानुनमा रहेको छ ।

अर्कोतर्फ गर्भपतन सेवा सुरु भएपछि मातृ मृत्युदरमा समेत आमूल सुधार आएको छ । एक अध्ययनका अनुसार सन् १९९५ मा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर ५८० रहेकामा यो सङ्ख्या सन् २०१३ मा आइपुग्दा १९० मा झरेको थियो ।

मन्त्रालयले हालसम्म एक हजार २०० भन्दा बढी स्वास्थ्य संस्थालाई गर्भपतन सेवा वा गर्भपतनपछिका सेवा दिन स्वीकृति दिइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *