स्वास्थ्य बीमा कार्यक्रममा साढे ३४ हजार सदस्य बने, ४ हजार बढीले पाए उपचार

काठमाडौँ, १४ माघ । सरकारले गत २५ चैत देखि सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा) मा हालसम्म ३४ हजार ४४९ जनाले नाम दर्ता गराएका छन् । ती मध्ये ४ हजार १९७ जनाले उपचार सुविधा समेत लिइसकेका छन् ।

नाम दर्ता प्रक्रिया हाल कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दी गरि ८ जिल्लामा सञ्चालित छ तर उपचार सेवा भने कैलाली बाग्लुङ र इलाममा मात्रै सुरु भएको छ ।

बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बाँकी ५वटा जिल्लामा पनि आगामी फागुन देखि बीमा बापतको उपचार सेवा प्रारम्भ हुने जनाएको छ । समितिले हालसम्म उपचारका लागि १ करोड १२ लाख रुपैयाँ विभिन्न अस्पतालका लागि भुक्तानी गरिसकेको कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिए ।

बीमामा एउटा परिबारका सदस्य (५ जना)ले बार्षिक रुपमा २ हजार ५ सय रुपैयाँ तिरेपछि ५० हजार सम्मको उपचार सेवा पाउने व्यवस्था छ । परिबारको सदस्यसंख्या ५ भन्दा माथि छ भने प्रतिसदस्य ४२५ रुपैयाँको दरले थप रकम तिर्नुपर्छ । उपचार रकममा पनि १० हजारको दरले बढदै जाने व्यवस्था छ ।

बीमाको सदस्य बनेपछि मुख्य रुपमा पाईने उपचार सेवा के के हुन् ?

बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, फिजियोथेरापी सेवा छन् ।

त्यस्तै अकुपञ्चर, प्रजनन स्वास्थ्यसेवा, बाल स्वास्थ्य सेवा, कोलोनोस्कोपी, मधुमेह, आँखा सेवा, अक्सिजन सेवा, प्रसुति वार्ड, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्ट सेवा, औषधि,प्रेशण, दन्त चिकित्सा सेवा, स्वास्थ्य जोखिम परीक्षण सेवासमेत उपलव्ध हुने बताइएको छ ।

यी बाहेक  प्याकेजको सीमा सम्म क्यान्सर,मधुमेह, मुटुरोग, मृगौला, स्पाईनल तथा हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किसन, दम,अल्जाईमर, तथा डिमेन्सीया जस्ता रोगहरु समेत यो कार्यक्रमले समेटने बताइएको छ ।

कुन कुन अवस्थामा उपचार खर्च पाइदैन ?
निम्न कार्यका लागि बीमाका सदस्य नै भएपनि उपचार सेवा पाउन सकिदैन् :

  • कस्मेटिक सर्जरी( सुन्दर बनाउने)कार्यका लागि , सहायक यन्त्रहरु जस्तै कृतिम अंगहरु, यसमा बर्षमा एक पटकमा रु ५०० भन्दा बढी मुल्यमा चस्मा सुन्ने यन्त्रहरु
  • कार्यक्रममा तोकिए बाहेकका दाँत उपचार सेवाहरु
  • कृतिम गर्भाधान सेवाहरु लिंग परिवर्तन सम्वन्धी सेवा
  • व्यक्तिगत झै झगडाका कारण चोटपटक लागि उपचारसेवा
  • अल्जाइमर्स र पार्किन्सस रोग उपचार सेवा
  • मापद वा लागू पदार्थ सेवनका कारणबाट भएको दुर्घटनासम्वन्धी उपचार सेवा
  • गर्भपतन सेवा

कसरी लिने उपचार सेवा ?
बीमामा सहभागी सदस्यले आकस्मिक सेवा बाहेक ओपिडी सेवाका लागि सुरुमा आफ्नो नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा देखाउनुपर्ने छ । त्यहाँबाट रिफर भएपछि जिल्ला हुँदै केन्द्रीय अस्पतालसम्म आई पुग्न सक्छ ।

समितिले अहिले काठमाडौँमा बीर अस्पताल, गगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथारासिक अस्पताल, प्रसुतिगृह अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, ट्रमा सेन्टर, भरतपुर क्यान्सर अस्पतला जस्ता सरकारी अस्पतालसंग सम्झौता गरिसकेको छ ।

त्यस्तै पूर्वमा बी एण्ड सी अस्पताल, पश्चिममा नेपालगञ्ज मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्विनी मेडिकल कलेजसंग समेत सम्झौता गरेको छ ।

यी बाहेक अरु धेरै सरकारी तथा निजी अस्पतालसंग उपचारका लागि सम्झौता गर्न लागेको निर्देशक डा लोहनीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *