बाँकेमा मातृ मृत्युदर बढ्दो
बाँके, १९ पुस । बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८ गतेसम्ममा १० जना गर्भवतीले ज्यान गुमाइसकेका छन् ।
बाँकेमा निम्न वर्गका तथा मधेसी मूलका आमाको मृत्यु बढी हुने भएको छ । गत आवमा बाँकेमा २० जनाको सुत्केरी हुने क्रममा मृत्यु भएको थियो ।
गत वर्षको तथ्याङ्कभन्दा यस वर्ष साढे पाँच महिनाको अवधिमा १० जनाको ज्यान जानु जिल्लामा मातृ मृत्युदर बढ्नु रहेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता जोशी भण्डारीले बताइन्् ।
बाँकेमा आमा बचाउ अभियान कार्यक्रमको सोमबार उद्घाटन गर्दै क्षेत्रीय स्वास्थ्य निर्देशक भण्डारीले भनिन्, “आमाले आफू बाँच्ने विषयमा उचित परामर्श नलिनु र अन्तिम अवस्थामा मात्रै अस्पताल आउनुले पनि मातृमृत्युदर बढेको हो ।”
सोमबारदेखि सुरु भएको अभियानले ग्रामीण क्षेत्रका महिलालाई गर्भवती चेकजाँच, नवजात शिशु स्याहारलगायतका विषयमा सचेतनामूलक कार्य गर्ने भएको छ ।
उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँके जिल्लामा सुविधा सम्पन्न र प्रशस्त मात्रामा अस्पताल तथा स्वास्थ्य चौकी भएर पनि मातृ मृत्युदर बढ्नु चिन्ताको विषय भएको बताए ।
उनले भने, “यो अभियान जिल्ला जनस्वास्थ्यको मात्र कार्यक्रम हो भनी नसोचेर सम्पूर्ण तह तप्काका व्यक्तिले आफूले गर्नुपर्ने कामको जिम्मेवारी लिनुपर्छ ।”
कार्यक्रममा विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा कर्मचारीले आफ्नो क्षेत्रबाट यस अभियानमा सहयोग गर्ने भनेर सामूहिक प्रतिबद्धता पनि जनाएका थिए । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



