आँखाका रोगीमा महिलाको सङ्ख्या बढी

eye-enfactions

(कविता उपाध्याय )रोल्पा, २३ कात्तिक –  आर्थिक अभाव तथा अज्ञानताका कारण घोडागाउँ, रोल्पाकी चम्कली रिजालले गर्भावस्थामा राम्रो स्याहारसुसार पाउन सकिनन्, जसका कारण उनको बच्चा ९छोरी० जन्मिँदै कुपोषित भइन् ।

बच्चा जन्मिसकेपछि पनि आवश्यकता अनुसार स्याहारसुसार र खानपिन नमिल्दा आमा र बच्चा दुवैको स्वास्थ्य नाजुक बन्दै गएको उनले बताइन् । ऋण काढेर लाखौँ खर्च र लामो समयको उपचारपछि आमा र बच्चाको स्वास्थ्यमा केही सुधार आएपनि अन्तमा बच्चा कुपोषणका कारण दृष्टिविहीन भयो ।

डाक्टरको परामर्श पाएपछिमात्र रिजाल परिवारलाई कुपोषणका कारण बच्चा दृष्टिविहीन भएको थाहा भएको चम्कलीका श्रीमान्ले बताए । समयमा गर्भवती श्रीमती र दुधे बालकलाई राम्रो ख्याल नगर्दा लाखौँ सम्पत्ति त गुम्यो, त्यसमाथि सन्तानले पनि जीवनभरका लागि दृष्टि गुमाउनु प¥यो, उनले चिन्तित हुँदै भने ।

यस्तै, गजुल–१ रोल्पाकी ६८ वर्षीया धिमा महराका अनुसार जवानीमै उनको आँखामा समस्या आएको थियो तर उनी डाक्टरकहाँ चेकजाँचका लागि पुग्नु भएन बरु उहाँले जथाभावी आँखामा घरेलु सामग्रीको प्रयोग गरे । समयमै आँखा चेकजाँच नगर्दा दृष्टिविहीन हुनुपर्छ भन्ने उनले कहिल्यै पनि सोचेकी थिइनन् ।

लामो समयसम्म उनको आँखा पाक्यो, अन्तमा असह्य पीडा भएपछि मात्र उनी अस्पताल पुगिन् । दुर्भाग्य, उनको आँखाको ज्योतिमात्र गुमेन विभिन्न घरेलु उपचारका कारण उनको आँखा गलेर कामै नलाग्ने भइसकेको रहेछ । हाल उनले नक्कली आँखा प्रयोग गर्न बाध्य छन् । “यौटा आँखा फुट्यो, अर्को आँखा पनि निकै कमजोर छ, संसार अन्धकार भएर बाँच्नुभन्दा मर्नै वेश”, उनले दुःखेसो पोखिन् ।

यस्तै, गजुल—६ रोल्पाकी पाना सुवेदीले पनि लामो समयदेखि आँखाको समस्या झेल्दै आएकी छन् । उनी भन्छिन्, डाक्टरले धुवाँधुलोबाट आँखालाई जोगाउने सल्लाह दिनुभएको छ, तर प्रत्येक दिन आगो बालेर खाना पकाउनै प¥यो, घर आँगनको धुलो सफा गर्नै प¥या,े कसरी धुवाँ धुलोबाट बच्नु रु धुवाँधुलोमा काम गर्दा वा रुख चढ्दा चश्मा लगाउन नमिलेपछि उनलाई थप समस्या हुने गरेको छ ।

आँखाको समस्या झेल्दै आएका यी त प्रतिनिधि पात्र मात्र हुन् । रोल्पामा यस किसिमका आँखाका रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको सामुदायिक आँखा केन्द्र, रोल्पाले जनाएको छ । त्यसमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या नै बढी भएको सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज विमलबहादुर बिसीले जानकारी दिए । उनका अनुसार सन् २०१६ को करिब नौ महिनामा मात्र जम्मा छ हजार २६२ जना आँखाका बिरामीले आँखा चेकजाँच गराएका छन्, जसअन्तर्गत २,७१३ पुरुष र ३,५५१ महिला रहेको देखिन्छ ।

आँखाका कुल बिरामीमध्ये ३,७४८ जना बिरामी जिल्ला आँखा केन्द्र, लिबाङमा चेकजाँचका लागि आएका हुन् भने दुई हजार ५१६ जना बिरामीले राङ्सी, इरिबाङ, गुम्चाल, होलेरी, जुगार, गैरीगाउँ, घर्तीगाउँ, मिरुल टुटु र थबाङ घुम्ती शिविरमा आँखा चेकजाँच गराएका हुन् ।

यसरी आँखा चेकजाँचका लागि घाँस दाउराले आँखामा चोटपटक लागेका, आँखामा फुलो परेका, आँखाको एलर्जी तथा दृष्टिदोष भएका, आँखा पाक्ने समस्या भएका र चश्मा प्रयोग गर्नुपर्ने खालका बिरामी आउने गरेको इन्चार्ज बिसीको भनाइ छ ।

उनका अनुसार यसरी चेकजाँच गरेका आँखाका बिरामीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी हुनुमा महिला घरायसी कामकाजमा बढी व्यस्त हुनु वा घरायसी कामबाट छुटकारा नपाउनु, चर्को घाममा काम गर्नु, अत्यधिक दाउरा प्रयोगका कारण धुवाँधुलोबाट प्रभावित हुनु, डाक्टरको सल्लाह नै नलिई जथाभावी औषधि प्रयोग गर्नु, महिलाले गर्भावस्थामा वा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यमा विशेष सावधानी नअपनाउँदा कुपोषित हुनु तथा दृष्टिदोषका कारण चश्मा लगाउनु पर्ने बिरामीले पनि निरन्तर चश्मा प्रयोग गर्न नपाउनु आदि कारणले समस्या चुलिँदै जाने गरेको पाइएको छ ।

यस्तै, सामुदायिक आँखा केन्द्र, रोल्पाका पूर्व इन्चार्ज भोजराज पोख्रेलका अनुसार अझै पनि जनतामा चेतनाको अभाव छ जसका कारण आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै पनि गाउँघरमै धामीझाँक्री र झारफुकमै विश्वास गर्ने गरेको पाइन्छ । यसका लागि समयमै सबै सचेत बन्न र सचेत बनेका नागरिकले चासो राख्न जरुरी छ उनले भने ।

यस्तै, महिला अधिकारकर्मी पुष्पा श्रेष्ठका अनुसार हाम्रो जस्तो पितृसत्तात्मक सोच र चिन्तन बोकेको समाज जहाँ महिलाले मात्र घरायसी कामकाज वा चुलोचौकोको जिम्मेवारी लिनुपर्ने बाध्यता छ, यस्तै लैङ्गिक विभेदका कारण विभिन्न जटिल चुनौती सामना गर्नुपर्ने बाध्यता महिलामा नै सीमित छ ।

“जबसम्म महिला र पुरुषका बीचमा समान काम, समान जिम्मेवारी र समान दायित्वबोध हुँदैन तबसम्म समाजमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा महिला नै प्रताडित भएर बाँचिरहनु पर्छ । त्यसैले समुन्नत समाज निर्माणका लागि महिला र पुरुषको हरेक क्षेत्रमा समान सहभागिताको खाँचो छ,” उनले भनिन्े । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *