रेबिज रोगबारे जान्नै पर्ने केही कुरा

रेबिज रोग पशुबाट मानिसमा सर्ने रोग हो । चरा र स्तनधारी प्राणीहरुमा मात्र असर गर्ने यो रोग जंगली जनाबरहरु जस्तै स्याल ब्वाँसो, फ्याउरो आदि जनाबरहरुमा उत्पन्न हुन्छ । घरपालुवा पशु भनिने कुकुरमा प्राय यो रोग तीनै जंगली जनाबरबाट सर्ने गर्छ र मानिसमा यो रोग सार्ने मुख्य माध्यम त्यहि घरपालुवा भनिने जनाबर कुकुर हो । कुकुरको टोकाईबाटै मानिसमा यो रोग सर्छ भन्दा हुन्छ ।

dr-arun-ku-sing
डा. अरुणकुमार सिंह

विश्व स्वास्थ्य संगठन डव्लुएचओले विश्वभर रेबिजबाट मर्नेको संख्या बार्षिक करीब ५५ हजार रहेको जनाएको छ । तर नेपालमा यो रोगबाट बर्षेनी कतिको ज्यान जान्छ भन्ने आधिकारिक तथ्यांक छैन् । तर रेबिज रोग लाग्नुको करीब ८० प्रतिशत बढी माध्यम कुकुरकै टोकाई भएको अनुमान छ । ३ देखी ५ प्रतिशतलाई जंगली जनावरले टोकेको अनुमान छ ।

रेबिज खोपका अन्वेशक फ्रान्सिस बैज्ञानिक लुईस पास्चरले मृत्युबरण गरेको आजकै दिन अर्थात २८ सेप्टेम्बरलाई सम्झँदै विश्व रेबिज विरुद्धको दिवस मनाउन थालिएको हो ।

यसबर्षको रेबिज विरुद्धको दिवसको नारा ‘जनचेतना, खोप र उन्मुलन’ भन्ने रहेको छ । तपाईँ हामीले पनि आफूले पालेको जनावर विशेषगरी कुकुरलाई समयमै रेबिज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनीहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेत हुन आवश्यक छ । किनकी यो संक्रमणको जोखिममा हामी जो कोही पनि जुनसुकै बेला पर्न सक्छौँ ।

रेबिजको लक्षण कति दिनमा देखिन्छ ?

कुकुरले टोक्ने वित्तिकै अर्थात आजको आजै रेबिजको लक्षण देखिदैन । अर्थात जनावरले टोकेको केही महिना वा बर्ष पनि लाग्न सक्छ । बरु महत्वपूर्ण कुरा के हो भने जनावर अर्थात कुकुरले कुन ठाँउमा टोकेको छ ? कति ठाँउमा टोकेको छ ? लुगामाथिबाट टोकेको छ कि नांगो छालामा टोकेको छ ? कुकुर कस्तो खालको छ? आदि कुरामा ख्याल गर्नुपर्छ । यी माथिका आधारमा उपचार प्रक्रिया समेत परिवर्तन हुन्छ ।

रेबिज कुकुरबाट मानिसमा मात्रै सर्छ ?

रेबिज मानिसलाई मात्रै होइन गाई, भैँसी , भेँडा बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ । रेबिज रोग लागेको कुनै पनि जंगली जनाबरहरुसंगको सम्पर्कमा आउँदा सजिलोसंग कुकुरमा सर्दछ । रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरुलाई सर्न सक्छ ।

रेबिज रोग लागेपछि के हुन्छ ?

तत्काल यसको केही लक्षण देखिदैन तर समयमै उपचार भएन भने यसले मानसिक रुपमै असर पार्छ । अर्थात मानिस बहुलाउने हुन्छ । त्यस्तै रेबिज रोग लागेको मानिस पानीबाट डराउँछ । रेबिज रोगको असर मस्तिस्कमा पर्ने भएकोले संक्रमित व्यक्ति चिच्याउने, अरु मानिसहरुलाई चिथोर्ने , कोपर्ने जस्ता काम गर्छ ।

रोगको तीन अवस्था अनुसार लक्षण देखा पर्छन्

पहिलो अवस्था : टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ । भने विरामी साना तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।
दोस्रो अवस्था : चिडचिडाहट हुने, अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने , जो संग र जे गर्दा पनि रिसाउने, पानीसंग खेल्न मात्रै होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाई हुने हुनाले तिर्खा लोपनि विरामीले पानी खान सक्दैन ।
तेस्रो अवस्था : रयाल चुहाउने , अरुलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्युसमेत हुन्छ ।
रेविजरोगको असर मस्तिकमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ ।

रेबिजको खोप निशुल्क उपलव्ध छ :

 रेबिज विरुद्धको यो खोप सरकारले नेपाली जनतालाई निशुल्क रुपमा उपलव्ध गराउदै आएको छ । कुकुर स्याल फ्याउरो जस्ता शंकास्पद जनावरले टोकेमा तत्काल सरकारी स्वास्थ्य संस्थामा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीसंग परामर्स लिनुपर्छ । र आवश्यकता अनुसार खोप लगाउनुपर्छ । यो खोप बढी जसोलाई पाँच डोज दिने गरिएको छ । कसै कसैलाई सात डोज समेत दिइन्छ । तर खोपको पैसा लाग्दैन ।

# डा .सिंह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *