‘गन्ध नआउने सूर्ति’ भन्दै खुलेआम विज्ञापन, कानुनको खिल्ली उडाउँदा प्रशासन भने मौन !

पाल्पा १४ भदौ – नेपालको कानूनले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रअंकित चेतावनीमुलक स्वास्थ्य सन्देश नभए बिक्री वितरणका लागि अवैध ठहरिन्छ ।

तर कपिलवस्तुमा कारखाना रहेको बताउने साहू सूर्ति भण्डारले चेतावनीमुलक सन्देश त के बरु ग्राहकलाई सूर्ति खान आकर्षित गर्नेगरी प्याकेटमा विज्ञापन राखेर निर्वाधरुपमा बिक्री वितरण गरेको छ । एउटा सुर्ती उद्योगले कानूनको खुलेआम खिल्ली उडाउदा प्रशासन भने मौन बसेको छ ।jhumka surti

‘झुमका’ ब्राण्डको सुर्तीको प्याकेट झट्ट हेर्दा भारतीय उत्पादन जस्तो पनि देखिन्छ । सुर्तीको प्याकेटमा सम्पूर्ण भाषा हिन्दीमा लेखिएको छ । अनि भनिएको छ , यो सुर्ती खाँदा गन्ध आउदैन, उत्कृष्ठ मसला र प्राकृतिक सुगन्ध सहित निर्माण गरिएको छ । गुडखाको लत समेत यसले घटाउछ आदि आदि ।

केही महिना अघि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा अनुगमन गर्दा ठूलो परिमाणमा यस्ता अवैध सुर्ती पसलबाट जफत गरेको थियो । टोलीले जफत गरेको अवैध सुर्ती ल्याएर नष्ट गरयो तर उत्पादक कम्पनीलाई भने कुनै कारबाही गर्न सकेन् । त्यसपछि पनि अहिले पनि बजारमा उही प्रकृतिका सुर्तीहरु आई रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सूर्ति नियन्त्रण फोकल पर्सन माधव ज्ञवाली भन्छन्, ‘मुहान बन्द नगर्दा समस्या भएको छ ।’ उनले जिल्लामा सबै ब्राण्डका सुर्तीहरुमा तोकिएको मापदण्ड लागू नभएको बताउछन् ।

‘हामीले अनुगमनका क्रममा भेटिएका मापदण्ड विपरीतका सूर्तिजन्य पदार्थ त जफत गरि नष्ट गर्छौ तर बनाउनेले अहिले पनि अटेरी गरेको छ । ९० प्रतिशतको मापदण्ड अहिले पनि लागू गरेको छैन् ।’  उनले मापदण्डको ठाडै उल्लंगन हुने गरी उत्पादन गर्ने सुर्ती उद्योगलाई सिधै सिल गर्न सके प्रभावकारी हुने बताए ।

बाहिर ९० प्रतिशत भित्र मापदण्ड छैन

अनुगमनका क्रममा कतिपय सुर्ती उद्योगले सरकारलाई छल्न चलाखी गरेको पनि भेटिएको ज्ञवाली बताउछन् । ‘ठूलो प्याकिङमा एक साइडमा मात्रै ९० प्रतिशत चित्र छापेको छ तर भित्र खोलेर खुद्रा प्याकेट हेर्दा केही छैन् । अनुगमनमा आउनेलाई ठूलो प्याकेट देखाई झुक्याउने रणनीति जस्तो देखियो,’ उनले भने ।

सुर्तीजन्य पदार्थ सजाएर बेच्न निषेध :
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सूर्तिजन्य पदार्थ सजाएर बेच्न निषेध गरेको छ । प्रहरी सहित खटिएको कार्यालयको टोलीले व्यापारीहरुलाई सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ अनुसार सजाएर बिक्री गर्न नमिल्ने कुरा जानकारी गराउदै सजाउन निषेध गरेका छन् ।

सो सचेतना पछि अधिकांश पसलेले चुरोट तथा सूर्तिको सजावट गर्न छाडेको ज्ञवालीको दावी छ ।

चुरोट खिल्ली विक्री रोक्न समस्या :

नयाँ नियमले चुरोटको खिल्ली विक्री वितरणलाई निषेध गरेको छ । तर जिल्लामा अहिले पनि निर्वाध रुपमा खिल्ली चरोट विक्री भइरहेको छ । विशेषगरी युवापुस्ताहरुले खिल्ली चुरोटको प्रयोग गर्ने गरेको पाइएको छ ।

फोकल पर्सन ज्ञवाली भन्छन्, ‘हामीले धेरै कोशिश गरयौँ तर अहिलेसम्म अपेक्षित सफलता पाएका छैनौँ । यसको कार्यान्वनयमा अलि गाह्रै देखिएको छ ।’

जनचेतना र अनुगमनलाई तिब्रता :

सुर्ती नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले पत्रकार, शिक्षक, विद्यार्थी , सरकारी तथा सुरक्षा निकायका कर्मचारी बीच छुट्टाछुट्टै अन्तरक्रिया गरेको छ । ‘गत आर्थिक बर्षमा हामीले क्षेत्रगत रुपमा अनुगमन गरयौँ, अन्तरक्रिया गरयौँ, जनचेतना फैलाउने पम्प्लेट प्रकाशित गरि व्यापारीहरुलाई नियम बारे जानकारी गरायौँ,’ ज्ञवालीले भने ।

उनले सार्वजनिक स्थलमा धूमपान निषेध गरिएको तर त्यस्तो ठाँउमा धूमपान गर्ने व्यक्तिलाई कारबाही भने नगरिको बताए । सम्झाएर पठाउने गरेका छौँ, जरिमाना चाहि गरेका छैनौँ । उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *