स्वास्थ्य भवनको उद्घाटन

काठमाडौँ, २८ साउन – जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ ।

नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले संयुक्त रुपमा आज भवनको उद्घाटन गरेका हुन् ।

सांसद जोशीले विकासको सबै काम समुदायमा आधारित हुनुपर्ने बताए। उनले भने, “विकासको जिम्मा समुदायले लिने हो भने त्यो विकास दीर्घकालीन हुनुका साथै प्रतिफल सकारात्मक हुन्छ ।” राजदूत ओगावाले जापान सरकार नेपालको विकासमा सधँै सहयोग गर्न तयार भएको बताउनुभयो । उहाँले जापानको सहयोगमा बनेको स्वास्थ्य भवनको उपयोगले जनतालाई उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले सरकारले स्वास्थ्य संस्थामा ज्यादै कम बजेट छुट्याएका कारण सबै नागरिकलाई सेवा पु¥याउन नसकिएको उल्लेख गरे।

उक्त दुई कोठे भवन जापान सरकारको रु ९६ लाख ९० हजार ८९९ को सहयोगमा बनेको हो । भवनका साथै सो रकममा परिषद्ले डिजिटल एक्स–रे र अल्ट्रासाउन्ड, नाक, कान र घाँटीको उपचारमा प्रयोग हुने उपकरण पनि खरिद गरेको परिषद्का महासचिव मुकुन्दप्रसाद पाण्डेले जानकारी दिए। छत्तीस वर्ष पुरानो उक्त परिषद्बाट विभिन्न रोगका १८ जना विशेषज्ञबाट २० वटा रोगको परीक्षण हुने गरेको परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com