डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान

चितवन, १५ असार – चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्ममा ८५ जनामा डेङ्गु देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गएको साउनदेखि असार दोस्रो सातासम्ममा ८५ जना बिरामीमा डेङ्गु लागेको पाइएको हो ।

डेङ्गु पाइएपछि यहाँ कार्यालयले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाउन लागेको जनाएको छ ।

यो वर्ष डेङ्गु सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको कार्यालयमा प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए। यही वैशाखमा चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएकामध्ये एक बिरामीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्षमा एक हजार ६७८ जना बिरामीको परीक्षणमा ११९ जनामा डेङ्गु लागेको पाइएको थियो । तर यो वर्ष एक हजार ८६ जनाको परीक्षणमा ८५ जनामा रोग देखिएकोमा एक जनाको ज्यान गएको हो ।

समयमै स्वास्थ्य संस्थामा गएर मृत्युदर न्यून रहेको चिकित्सकले बताएका छन् । २०६७ सालमा चितवनमा महामारीको रुपमा फैलिएको डेङ्गुको सङ्क्रमणबाट सो समयमा ७३९ जना प्रभावित भएको थियो । पाँच जनाको मृत्यु भएको थियो ।

त्यसको अर्को वर्ष २०६८÷६९ सालमा ६८ जनामा डेङ्गु लागेकोमा एक जनाको मृत्यु भएको थियो । त्यसपछि यो वर्ष थप एकको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका प्रवक्ता नरहरि शर्माले जानकारी दिए ।

यो वर्ष डेङ्गु सङ्क्रमित भएकामध्य अधिकांश चितवनका छन् । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८५ मध्ये ५८ जना चितवनका, १२ जना नवलपरासीबाट उपचारका लागि आएका बिरामी हुन् ।

यस्तै अन्यमा पर्सा, मकवानपुर, तनहुँ, दाग, गोरखालगायत जिल्लाका बिरामीमा पनि सङ्क्रमण देखिएको छ । सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने र यसले दिउँसोमा मात्रै टोक्ने भएकाले लामखुट्टेबाट बच्न फिजिसियन डा विजय पौडेलले सबैलाई आग्रह गरेका छन् ।

उहाँले यसको खासै उपचार नभएकाले झोलिलो पदार्थ पिउने, आराम गर्ने, चिकित्सकको सल्लाहमा औषधि लिनुपर्ने बताउनुभयो । यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, ढाड जोर्नी मांसपेसी दुख्ने, शरीरमा बिबिरा आउने तथा पाँच÷सात दिनसम्म ज्वरो आइरहने हुन्छ ।

नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेङ्गु भेटिएको थियो । २००६ मा तराई र भित्री मधेसमा, २००९ मा चितवनमा नौजना बिरामी भेटिएका थिए ।

लार्भा नष्ट गरिँदै

डेङ्गु सङ्क्रमण देखिएपछि चितवनमा भोलिदेखि घरघर पुगेर स्वास्थ्यकर्मीले डेङ्गु सार्ने लामखुट्टेका लार्भा र प्यूपा नष्ट गर्न अभियान चलाइँदै छ ।

अभियानको तयारी पूरा भएको कार्यालयले जनाएको छ । अभियान १८ गतेसम्म चलाइने छ । स्वास्थ्यकर्मीलाई प्रशिक्षण समेत दिइसकेकाले भोलिदेखि तीन दिनसम्म अभियान चलाइने कोइरालाले जानकारी दिए।

विशेषगरी भाँडामा जमेको सफा पानीमा यसले फुल पार्ने र बच्चा हुर्काउने भएकाले अभियानमा यस्ता पानी नष्ट गर्न स्वयम्सेवक परिचालन गराइनेछ ।

घरघर पुगेर सचेतना फैलाउँदै टायर वा प्लास्टिकको भाँडामा पानी जम्मा हुन नदिन आह्वान गरिने कार्यालयले जनाएको छ ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *