खर्च अभावमा बालकले उपचार पाएनन्

जाजरकोट, १३ असार – खर्च अभावमा भेरीमालिका नगरपालिका–२, रिसांगका १२ वर्षीय लक्ष्मण विक उपचारबाट वञ्चित भएका छन् ।

घाँस काट्ने क्रममा पाँच दिनअघि रूखबाट खसेका विकको टाउकोमा गम्भीर चोट लागेको छ । सघन उपचारको अभावमा उनी बेहोस अवस्थामै जाजरकोट अस्पतालको श्ययामा छन् । विष्णु प्राथमिक विद्यालय नेटामा कक्षा ५ मा अध्ययनरत विकको रूखबाट खसेदेखि नै होस खुलेको छैन । घाइते विकलाई छिमेकको सहयोगमा नेपालगन्ज मेडिकल कलेजमा पु¥याइएको थियो ।

गाउँलेको चन्दा सहयोगबाट उठेको रु २० हजारले थप उपचार खर्च नपुगेपछि मेडिकल कलेजले दुई दिनमै उनलाई निकालिदिएको थियो । अस्पतालले उपचारमा दैनिक रु पाँच हजार खर्च लाग्ने भनेपछि उक्त रकम नपाउँदा छोराको उपचार नगरेरै घर फर्काएको आमा रतिकलाले बताइन् । “चन्दाबाट सङ्कलन भएको पैसा सकिएपछि अस्पतालले निकाली दियो” उनले भनिन् ।

“केले उपचार गर्ने बेचौँ भने जग्गा जमिन छैन, आम्दानीको कुनै स्रोत छैन” आमा विह्वल भइन् । “मजदुरी गरेर पाँच छोराछोरी लालनपालन गर्दै आएको उनले बताइन् ।” “ऋण गरेर तिरौँलाभन्दा पनि डाक्टरले मानेनन् । बेहोस छोरालाई उपचार नगरेरै निकाली दिए” उनको दुखेसो छ ।

उपचारका लागि कुनै उपाय लाग्ने आशमा जाजरकोट अस्पतालमा भर्ना गरेको विकले बताइन् । बाबु धनबहादुर दुई महिना अघि रोजगारीको खोजीमा भारततर्फ गएका छन् । विकको सघन उपचार गर्नुको विकल्प नभएको डा. सुनिल पुनले बताए । डा. पुनले भने, “उनी बेहोस नै छन्, होसमा ल्याउने उपाय यस अस्पतालमा छैन ।”  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *