रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौँ, १२ असार- नेपाल पब्लिक हेल्थ लेबोरेटरीको सहयोगमा राष्ट्रिय रक्त सञ्चार केन्द्र र नेपाल रेडक्रस गणबहाल उपशाखाको आयोजनामा आज यहाँ रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय जनता गरी ८० जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई रगतको महत्व, रगत तत्व र व्यक्तिको रक्तदान गर्न सक्ने/नसक्ने अवस्थाका बारेमा रक्त सञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकार र जनसम्पर्क अधिकृत सन्देश थापाले जानकारी दिएका थिए ।
कार्यक्रमको प्रारम्भमा ब्लड डोनर्स एसोसिएसन नेपालका संस्थापक अध्यक्ष स्वर्गीय शरद कसाःप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै उनको स्मरणमा एक मिनेट मौनधारण गरिएको थियो । उनि नेपालमा रक्तदान कार्यक्रमलाई आम जनतामाझ पु¥याइ संस्थागत गर्ने अग्रणी व्यक्तित्व मानिन्छन्। उनको ६६ वर्षको उमेरमा केही दिनअघि निधन भएको थियो ।
उत्प्रेरणा कार्यक्रममा रेडक्रस गणबहाल उपशाखाका कोषाध्यक्ष तेजनारायण मानन्धर, रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका पूर्वमन्त्री संघरत्न शाक्य र लगं खलःका अध्यक्ष सुवर्ण काजी स्थापितले रक्तदान कार्यक्रममा जनसहभागिता बढाउन सबै पक्षको सहयोग र समर्थन अपेक्षित रहेको बताएका थिए ।
रेडक्रस गणबहाल उपशाखाका सभापति अमृतनारायण मानन्धरका अनुसार नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसका अवसरमा आउँदो भदौ २९ गते बृहत् रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर र प्रकोप न्यूनीकरणबारे अभिमुखीकरण गरिने भएको छ । रासस
सम्पर्क इमेल : [email protected]