आगोले जलेर गर्भवती महिला अशक्त (प्लास्टिक सर्जरी गर्न रकम अभाव)
मोरङ, १२ असार – शरीर जलेर उनी पूरै असक्त भएकी छन् । मुस्किलले हिँडडुल गर्छिन् । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उनलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर बसिरहेकी छन्।
मोरङ, उर्लाबारी–६ मङ्गलबारेकी ३३ वर्षीया कुमारी राईले यस्तो कारुणिक पीडा भोगिरहेकी छन्। गत पुस १२ गते घर छेउकै कटेरोमा सुँगुरलाई चारो पकाउँदै गर्दा अचानक उनको शरीरमा आगो सल्किएर यस्तो दुर्दशा भएको हो ।
“हुरी बतास चलिरहेको थियो । सँुगुरलाई चारो पकाउँदै थिएँ । पोलिस्टरको सारी लगाएकी थिएँ । कतिखेर आगो सल्किएछ थाहै पाइनँ । सारीमा आगो सल्किएपछि शरीर जलेर बिहोस भएँ । अस्पताल पुगेपछि मात्र थाहा पाएँ शरीर बेस्सरी चरचर पोलिरहेको थियो । कम्मर, पेट र घाँटी डढेर कालो भएको थियो” – मलिन स्वरमा कुमारीले भनिन् ।
आगोले शरीर जलेपछि आफन्तले उनलाई झापाको भद्रपुरस्थित मेची अस्पताल पु¥याए । तीन महिना उपचार गरेपछि अस्पतालले घर पठायो । त्यतिखेर ऋण र सरसहयोग जुटाएर भेला गरेको रु ३५ हजार सिद्धियो । चिकित्सकले प्लास्टिक सर्जरी गर्नु भनेका छन् । तर, अहिले प्लास्टिक सर्जरी गर्ने उनीसंग रकम छैन ।
उर्लाबारी मङ्गलबारे बजार उत्तरपट्टि सात धुर जग्गामा बनेको सानो झुपडीबाहेक आफूहरुको कुनै सम्पत्ति नभएको कुमारीका पति देशबहादुर राईले बताए ।
कुमारीको प्लास्टिक सर्जरी गर्न धरान अथवा काठमाडौँ लानुपर्ने र करिब रु छ लाख खर्च लाग्ने चिकित्सकले जानकारी दिएको उनले बताए ।
आगोले शरीर जलेर अशक्त बनेकी कुमारी अहिले गर्भवती छन् । उनी गर्भवती भएको नौ महिना पुग्न लागेको पति देशबहादुरको भनाइ छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




