भृकुटीमण्डपमा पोषणसम्बन्धी दुईदिने मेला सुरु

काठमाडौँ, १० असार – आमनेपालीको खाने बानीमा सुधार ल्याउने उद्देश्यले पहिलो पटक खाद्य स्वच्छता र पोषणसम्बन्धी दुईदिने मेला शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

शनिबारसम्म सञ्चालन हुने मेलाको कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलले उद्घाटन गरे । खाने बानीमा परिवर्तन ल्याउने उद्देश्यले मेला आयोजना गरिएको खाद्य तथा गुण नियन्त्र विभागका खाद्य अनुसन्धान अधिकृत कमलप्रसाद रेग्मीले जानकारी दिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृषि विकास मन्त्री गजुरेलले खाने बानीमा सुधार ल्याउनु भनेको स्वास्थ्यमा सुधार हुनु हो भने । खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यबाट सुरु भएको सो मेला विभिन्न जातीय संस्कृति झल्कने खाद्य वस्तु ७८ वटा कक्षमार्फत बिक्री वितरण गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा हुमा वखिमले जानकारी दिइन्।

नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घको संयुक्त आयोजनामा सञ्चालित मेलामा आधुनिक र जङ्क खाद्य पदार्थ कक्षमा समावेश गर्न मनाही गरिएको छ । खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले पौष्टिक तत्व भएको पोषिलो खाना मकै, ढिँडो, आलु, कोदो, फापर, जौ, गहुँलगायतका खाद्य पदार्थ खान छोडी अखाद्य र तयारी खाना खाने बानीमा सुधार ल्याउन मेलाले थप बल पुग्ने विश्वास व्यक्त गरे।

डा अरुणा उप्रेतीले व्यस्त र आधुनिक जीवनशैलीका कारण वयस्क र बालबालिकाको तयारी खाने कुरामा लत बस्दै गएकाले मुलुकमा कुपोषणको अवस्था भयावह बन्दै गएको बताइन्। नेपालमा पाँच वर्षमुनिका करिब ४१ प्रतिशत बालबालिका कुपोषित अवस्थामा भेटिएका छन् भने करिब ५० प्रतिशत महिलामा उक्त समस्या देखापरेको बताइएको छ ।

पैँतीस प्रतिशत महिलामा फलाम तत्व कम भएर रगतको कमीबाट हुने रोग एनेमियाको समस्या देखिएको छ । सहर बजारका सम्पन्न परिवारका महिलाले आवश्यकताभन्दा बढी परिमाणमा पोषण तत्व सेवन गरेका कारण करिब १४ प्रतिशतमा मोटोपनाको समस्या देखिएको छ । कुपोषणका कारण बच्चा जन्माउने समयमा र बच्चा पाइसकेपछि बढी सङ्ख्यामा महिलाको मृत्यु हुने गरेको छ ।

कुपोषणलाई रोक्न स्थानीयस्तरमा उपलब्ध हुने पोषणयुक्त खाद्यान्न सागपात, तरकारी, गेडागुडी, फलफूल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपातलगायत खाद्य पदार्थ सन्तुलित परिमाणमा खानुपर्छ । मेलामा करिब ५० हजार सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *