श्राद्धको प्रसाद खाँदा एकै वडाका पन्ध्रजना बिरामी

नुवाकोट, ९ असार – नुवाकोटको जिलिङमा श्राद्धको प्रसाद खाँदा एकै वडाका १५ जना बिरामी परेका छन् ।

जिलिङ–२, बेँसीथोकका खेमप्रसाद पुडासैनीको घरमा मङ्गलबार दिउँसो श्राद्धको प्रसाद खाएका १५ जना बिरामी भएका हुन् । प्रसाद खाएकाहरु बुधबार दिउँसोदेखि बिरामी पर्न थालेको स्थानीय शिक्षक टीकाबहादुर पुडासैनीले जानकारी दिए ।

बिरामीमा पखाला लाग्ने, बान्ता हुने र उच्च ज्वरो आउने लक्षण देखिएको छ । बिरामीको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । बिरामीमध्ये जटिल अवस्थामा श्राद्ध गर्ने घरधनी खेमप्रसादकी श्रीमती ३५ वर्षीया ईश्वरी तथा छोरा ११ वर्षीय प्रतीकलाई थप उपचारका लागि राजधानी पठाइएको छ ।

यस्तै, गम्भीर बिरामी भएका १३ वर्षीया सुरक्षा पुडासैनी र ३५ वर्षीया लक्ष्मी पुडासैनीलाई पनि थप उपचारका लागि राजधानी पठाइएको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । बाँकी ११ जनाको त्रिशूलीमै उपचार भइरहेको छ । अस्पतालका चिकित्सकले बिरामीको लक्षण हेर्दा ‘फुड पोइजन’को कारण बिरामी परेको हुनसक्ने बताएका छन् । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *