८५ जना नयाँ एचआइभी संक्रमित भेटिए
रुपन्देही, १ जेठ – रुपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी संक्रमित भेटिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी संक्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख टङ्कप्रसाद चापगाईंले यो आवमा ८५ जना नयाँ एचआइभी संक्रमित भेटिएको र गत वर्षभन्दा यो वर्ष तुलनात्मक रुपमा कम भएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आवमा रुपन्देहीमा १६९ जना एचआइभी सङ्क्रमित थिए ।
मृतकको सङ्ख्या भने गत वर्षको तुलनामा चालु आवको नौ महिनामै बढी देखिएको छ । जिल्लामा गत वर्ष २६ जना एचआइभी संक्रमितको मृत्यु भएको थियो । यो वर्षको वैशाख तेस्रो सातासम्म २७ जनाको मृत्यु भइसकेको छ ।
उपचारमा ढिला, अन्तिम समयमा उपचारमा आएका र औषधि सेवन ढिलो गरी सुरु गरेका कारण यो वर्ष मृतकको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताए ।
रुपन्देहीमा एक हजार ३८६ जनामा संक्रमित भएको अनुमान छ भने यीमध्ये ८४२ जनाले एचआइभीको एआरटी औषधी सेवन गर्दै आएका छन् ।