सरोकारवालाको प्रश्न : ‘पोषणका लागि बनाइएका कानूनको कार्यान्वयन खै ?’
ललितपुर – पोषणका क्षेत्रमा राज्यले बनाएका कानून अक्षरस कार्यान्वनयमा ल्याई स्थितिमा सुधार ल्याउन सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले मातृ तथा शिशु पोषणको अवस्था सुधारात्मक भएपनि सन्तोषजनक अवस्था नभएको भन्दै कानून कार्यान्वनयमा जोड दिएका हुन् ।
पोषणका लागि नागरिक समाज सञ्जाल सिसानले सरकारबाट मातृ तथा शिशु पोषणको स्थितिमा सुधार ल्याउन कार्यान्वनयमा ल्याएको बहुक्षेत्रीय पोषण योजनामा के कस्ता कार्यहरु भइरहेका छन भन्ने विषयमा मंगलबार आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
पूर्व सहसचिव आत्माराम पाण्डेले बहुक्षेत्रीय पोषण योजनाले अंगिकार गरेको व्यवस्था अत्यन्तै उत्कृष्ठ रहेको तर यसको पूर्ण कार्यान्वनय हुन नसक्दा समस्या परेको बताए ।
सिसानका अध्यक्ष डा. उमा कोइरालाले अहिलेपनि ४१ प्रतिशत बालबालिका पुडका भएको, ११ प्रतिशत ख्याउटे भएको तथा कतिपयमा रक्तअल्पताको समस्या भएको र पोषणको अवस्थामा अहिले पनि सन्तोषजनक अवस्था नभएको बताइन ।
राष्ट्रिय योजना आयोगका फोकल पर्सन मिनराज ज्ञवालीले बहुक्षेत्रीय पोषण योजनाको बर्तमान अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, शिक्षा मन्त्रालय, संघीयमामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका प्रतिनिधिहरुले बहुक्षेत्रयि पोषण योजना अनुसार आफूहरुले गरेका काम र हुन नसकेको कामका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले पोषणको अवस्था र त्यसमा देखिएको अस्पष्टताका बारेमा सरोकारवालासंंग प्रश्न राखेका थिए ।