औषधि उद्योगमा प्रहरीको छापा : शनिबारसम्म रिहा नभए आइतबारबाट औषधी उत्पादन बन्द गर्ने उद्योगीहरुको चेतावनी

काठमाडौँ – उद्योगीहरुले शुक्रबार पक्राउ परेका दुईवटा औषधी उद्योगका ४ जना सञ्चालकलाई विनासर्त अविलम्व रिहा गर्न सरकारसंग माग गरेका छन् । उनीहरुले अन्यथा आइतबारबाट देशभरका औषधि उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रहरीले बढी मूल्यमा औषधि बेची कालाबजारी गरेको भन्दै देउराली जनता फर्मास्यूटिकल्स र लोमस फर्मास्यूटिकल्सका दुई दुई जना सञ्चालकलाई शुक्रबार नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ । त्यसको विरोधमा उद्योगीहरु कडा प्रतिक्रिया आएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघले शनिबार दिउसो गरेको आकस्मिक पत्रकार सम्मेलनमा औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले विनासर्त अविलम्व रिहा नगरे आइतबारबाट देशभरका औषधि उत्पादन बन्द गर्ने चेतावनी दिए ।

उनले राज्यले उद्योगी तथा लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित हुने किसिमका हतकन्ठा अपनाएको आरोप लगाए । विना आधार प्रमाण छापा हान्ने , पक्राउ गर्ने राज्यले उद्योगीहरुलाई तर्साउने खेल हो भन्दै अध्यक्ष शर्माले त्यस कदमको जति निन्दा गरे पनि कम हुने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि पक्राउ गरिएकालाई विनासर्त रिहा नगरे देशभरका अन्य उद्योगसमेत ठप्प पार्ने चेतावनी दिए । अर्वौको लगानी गरी हजारौलाई रोजगारी दिएका उद्योगीहरुलाई धरपकड गर्नु न्यायसंगत नहुने भन्दै उद्योगीहरु उत्पादन वन्द गरी आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएका बताए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा सम्वन्धीत सरोकारवाला संस्थाका प्रतिनिधीहरु बोलेका थिए ।

यता प्रहरीले भने उद्योगीको दवावमा शुक्रबार पक्राउ परेका व्यक्तिलाई छाडन नसकिने बताएको छ । उसले आफूले कुनै उद्योगीलाई तर्साएको नभई कालाबजारी गर्नेमाथि छानवीन सुरु गरेको भन्दै त्यो टुङ्गोमा नपुग्दासम्म रिहाको कुरा हुनै नसक्ने बताए ।

महानगरीय प्रहरी परिषरका प्रमुख एसएसपी बिक्रम सिंह थापाले भने, ‘सबैले कानून मान्नुपर्छ कानून अनुसार चल्नुपर्छ । हामी प्रमाणका आधारमा कारबाही सुरु गरेका हौँ यो टुङ्गो नलागेसम्म पक्राउ परेकाहरुलाई छाड्ने कुरै आउदैन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *