जयन्ती स्मृति प्रतिष्ठानको मुटुरोग शिबिर आगामी मंगलबार कोहलपुरमा
काठमाडौँ – गरीब, असाहाय तथा विपन्न समुदायलाई लक्षित गरी जयन्ती स्मृति प्रतिष्ठान काठमाडौँले आगामी मंगलबार (२५ फागुन)मा बाँकेको कोहलपुरमा निशुल्क मुटुरोग शिबिर सञ्चालन गर्ने भएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा हुन लागेको सो शिबिरमा १ हजार ५ सय बढीको स्वास्थ्य परीक्षण हुने प्रतिष्ठानले लक्ष्य लिएको छ ।
शिबिरका लागि कोहलपुरमा काठमाडौँबाट शहीदगंगालाल हृदयरोग केन्द्रका बरिष्ट मुटुरोग विशेषज्ञ रबि मल्लको नेतृत्वमा चिकित्सकहरुको टोली पुग्ने छ भने नेपालगञ्ज मेडिकल कलेजबाट अर्को टोली पुग्ने छ ।
टोलीले शिबिरमा आउनेहरुको मुटु परीक्षण सहित परामर्श सेवा उपलव्ध गराउने भएको छ । परीक्षणका क्रममा गरीब तथा विपन्न समुदायको व्यक्तिमा गम्भीर समस्या देखिएमा थप उपचारका लागि अस्पताल रिफर गरी निशुल्क उपचारको व्यवस्था समेत मिलाउने तयारी छ ।
जयन्ती स्मृति प्रतिष्ठान पोखरास्थित फिस्टेल लजको आम्दानीबाट विपन्न मुटुरोगीको उपचार सहित निःशुल्क क्लिनिक, सचेतना कार्यक्रम, मुटुको भल्भ, एसके इन्जेक्सन लगायतका सेवा तथा सामग्री सहयोग गर्दै आइरहेको छ ।
जयन्ती स्मृति प्रतिष्ठान नेपालमा रहेका गरीब विपन्न तथा असहाय व्यक्तिको स्वास्थ्य उपचारमा सहयोग पुरयाउने सेवामुलक संस्था हो । पछिल्लो १४ बर्ष देखी प्रतिष्ठानले मुटुरोगबाट ग्रसित गरीब तथा विपन्न नागरिकलाई मनमहोन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्ज र शहीदगंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमार्फत उपचार सहयोग पुरयाउदै आएको छ ।
पोखरास्थित फिस्टेल लजको आम्दानीबाट विपन्न मुटुरोगीको उपचार सहित निःशुल्क क्लिनिक, सचेतना कार्यक्रम, मुटुको भल्भ, एसके इन्जेक्सन लगायतका सेवा तथा सामग्री सहयोग गर्दै आइरहेको छ ।