श्रीमानले दिए श्रीमतीलाई मिर्गौला

नेपाली हेल्थ /भक्तपुर -मिर्गौला प्रत्यारोपणमा श्रीमतीले दिने र श्रीमानले लिने प्रचलन परिवर्तन हुन थालेको छ । अव श्रीमान पनि श्रीमतीलाई आफ्नै मिर्गौला दान गर्न थालेका छन् ।

मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा यो साता भएको चार जनाको मिर्गौला प्रत्यारोपणमा दुई जनाको दाता आफ्नै श्रीमान थिए । अस्पतालका अनुसार ललितपुर इमाडोलका ३८ बर्षीय प्रकाश सुवेदीले आफ्नै श्रीमती पवित्रा सुवेदीका लागि मिर्गौला दान गरेका छन् । त्यस्तै भारत पटनाका ४० बर्षीय अनुपमा तिवारीलाई उनका आफ्नै श्रीमान श्याम तिवारीले मिर्गौला दान गरेका छन् ।

उनीहरुले सबैभन्दा नजिकको दाता आफूहरु नै भएकोले दान गर्न अग्रसर भएको बताए । ‘कतिपयको म्याच नभएर पनि होला तर मेरो अंग श्रीमतीको लागि म्याच भयो र मैले श्रीमतीका लागि आफ्नै मिर्गौला दान गरे’ प्रकास सुवेदीले नेपालीहेल्थसंग भने ।

प्रत्यारोपण पछि आइसियु कक्षका नर्ससंग तस्विर खिचाउदै अनुपमा र पवित्रा
प्रत्यारोपण पछि आइसियु कक्षका नर्ससंग तस्विर खिचाउदै अनुपमा र पवित्रा

महिलाले पुरुषलाई दान गर्ने र पुरुषले महिलालाई दान गर्ने अनुपात निकै फरक भएपछि केन्द्रले गतवर्षबाट श्रीमानका लागि उत्प्रेरणा प्याकेजको घोषणा गरेको थियो । जस अनुसार श्रीमतीका लागि श्रीमानले नै अंगदान गरेमा प्रत्यारोपण गर्दा लाग्ने खर्चमा ५० हजार रुपैया छुट दिने व्यवस्था छ । केन्द्रले यो व्यवस्था गतवर्ष देखी पुल्चोक स्थित आरोज्ञ प्रतिष्ठानसंग मिलेर सुरु गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले श्रीमानको मिर्गौला फेल हुँदा श्रीमतीले दिने तर श्रीमतीको फेल हुँदा श्रीमानले नदिने परिपाटीलाई परिवर्तन गर्न आफूहरुले उत्प्रेरणा प्याकेज ल्याएको बताए । उनले प्याकेजसंगै निरन्तर जनचेतना अभिवृद्धि गरेकै कारण श्रीमतीका लागि श्रीमान्हरु अंगदान गर्न तयार देखिएको बताए ।

‘श्रीमानलाई केही भयो भने श्रीमतीहरु जे जस्तो त्याग गर्न पनि पछि नपर्ने तर श्रीमतीलाई हुँदा श्रीमानहरु अलि पछि हटन खोज्ने परिपाटीलाई हामीले परिवर्तन गर्ने प्रयास गरेका हौँ । यसका लागि प्रत्यारोपणमै छुट दिने व्यवस्था देखी जनचेतना अभिवृद्धिले प्रमुख रुपमा काम गरेको छ’ नेपाली हेल्थसंग उनले भने ।

डा. श्रेष्ठले श्रीमतीका लागि दान गर्नुपर्छ भन्ने मान्यता राख्ने श्रीमानहरुको संख्या विस्तारै बढ्दै गएको बताए । ‘दान गर्नका लागि दुबैबीच अंग म्याच हुनुपर्छ । त्यसैले कतिपयको चाहेर पनि भएको छैन’ नेपालीहेल्थसंग भने, ‘तर मिल्नेहरुले सुरुवात गर्नुभएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । हाम्रो अभियानले सार्थकता पाउदै गएको महसुस गरेको छौँ ।’

प्रत्यारोपणका लागि भेलोरबाट भक्तपुरमा

भारत पटनाकी ४० बर्षीया अनुपमा तिवारीको मिर्गौला फेल भएपछि श्रीमान श्याम तिवारीले प्रत्यरोपणका लागि दिल्ली लगे त्यसपछि बेङलोर हुँदै नजिकैको भेलोर पुरयाए । तर त्यहाँ उनीहरुले चित्तबुझ्दो सेवा खासै पाएनन् । त्यसैक्रममा एक जना आफन्तले प्रत्यारोपण सेवा नेपालमा सस्तो र राम्रो हुने जानकारी दिए । त्यसपछि उनीहरु सिधै नेपाल हान्निए ।

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा यसैसाता प्रत्यारोपण गराएकी अनुपमाले आइतबार नेपालीहेल्थसंग कुरा गर्दै भनिन् , ‘नेपालमा यति राम्रो सेवा छ भन्ने त हामीले सोचेका पनि थिएनौँ ।’

उनले भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रको सेवा अति नै विश्वाशिलो र भरपर्दो पाएको बताइन । ‘प्रत्यारोपणका लागि पनि अति सस्तो र सेवा एकदमै भरपर्दो पाएँ एकदमै सन्तुष्ट छु’ उनले भनिन । ‘पहिलो कुरा यहाँ विरामीको निकै ख्याल गर्नुहुदो रहेछ । दोस्रो कुरा निकै सस्तो र स्तरीय उपचार । त्यसैले हामी नेपाल आयौँ र प्रत्यारोपण गरायौँ ‘  नेपाली हेल्थसंग उनले भनिन् ।

अनुपमाले भारतमा मिर्गौला प्रत्यारोपणका लागि ८ देखी ४० लाख भारु रकम खर्च हुने भएपनि आफूहरुको यहाँ निकै सस्तो भएको बताइन । ‘अहिलेसम्म कति खर्च भयो एकिन थाह छैन तर हुनसक्छ सबै परीक्षण र सबै खर्च गर्दा ६ लाख रुपैयामा हामी प्रत्यारोपण सकेर भारत फर्कन सक्छौँ’ नेपाली हेल्थसंग उनले भनिन् ।

केन्द्रका निर्देशक डा. श्रेष्ठले भारतबाट प्रत्यारोपणका लागि नेपाल आउन थालेको बताए । स्तरीय र सस्तो सेवा भएकैले नै भारतबाट विरामीहरु आउन थालेको उनले बताए । डा श्रेष्ठले केन्द्रमा अहिले ५ जना बढी भारतीयले मिर्गौलाको सफल प्रत्यारोपण गरिसकेको बताए ।

प्रत्यारोपणका लागि बेड अभाव हुन थाल्यो

केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले प्रत्यारोपणका लागि आउनेको संख्या तीब्र रुपमा बढेको बताए । उनले बेड अभाव भएर आएका सबै विरामीलाई समयमै सेवा दिन अप्ठेरो हुन थालेको बताए ।

साप्ताहिक रुपमा ३ देखी ४ वटा सम्म प्रत्यारोपण हुने केन्द्रमा ४० वटा मेसिनबाट दैनिक एक सय बढीले डायलासिस सुविधा लिने गरेका छन् । ‘डायलासिस देखी प्रत्यारोपणसम्म नै अत्यन्त कम शुल्कमा हुने भएकोले विरामीको चाप बढेको हो । हामीले यसलाई व्यवस्थापन गर्ने कोशिश गर्दैैछौँ’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *