‘अव आश्वासनले मान्दैनौँ, कार्यन्वनय नै चाहिन्छ ‘

नेपाली हेल्थ / काठमाडौँ –

तारा पोखरेल, अध्यक्ष - नेपाल नर्सिङ संघ
तारा पोखरेल, अध्यक्ष – नेपाल नर्सिङ संघ

नर्सहरु अव सेवा बहिस्कार गरेर आन्दोलन गर्ने तयारीमा रहेको कुरा सुनिएको छ, कुरा सहि हो ? हो भने  किन यस्तो आन्दोलन ?

हो हामीले यो कुरा स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई समेत भनि सकेका छौँ । उहाँकै सल्लाह अनुसार मागका बारेमा आगामी १८ माघमा पुन उहाँसंग भेट्ने छौँ । आशा गरौँ त्यस दिनको भेट्ले सकारात्मक परिणाम ल्याउने छ । अन्यथा हामी आन्दोलनमा जान बाध्य हुनेछौँ ।

विसं २०६६ सालमा नर्सहरुको एउटा आन्दोलन भएको थियो । त्यतिवेला आन्दोलन रोक्नका लागि स्वास्थ्य मन्त्रालयले हामीसंग सम्झौता गरेको थियो । तर ६ बर्ष पुगिसक्दा समेत ती सम्झौताको कार्यान्वनय हुन सकेन ।

२०५० साल भन्दा पहिला मन्त्रालयमा नर्सिङ महाशाखा थियो । त्यसपछिका दिनमा त्यसलाई खारेज गरियो । पछिल्लो समयमा मन्त्रालयमा नर्सिङ महाशाखा त राखिएको छ तर नाम मात्र कै । त्यो शाखालाई कुनै अधिकार पनि छैन जिम्मेबारी पनि छैन ।

देशमा ६० हजार बढी नर्स भइसके तर एउटा महाशाखा पनि गठन नहुने । भएपनि अधिकार नदिइने । जनरल वार्डमा एक जना नर्सले बढीमा ६ जना विरामी हेर्न सक्ने भन्ने अन्तराष्ट्रिय मान्यता छ तर नेपालमा एउटा नर्सले झण्डै ४० जना विरामी हेर्नुपर्छ । त्यसैले विरामी नर्सको अनुपात मिलाउनु पर्छ भन्ने माग हो ।

अहिले अस्पतालहरुमा भोलेन्टियर नर्स राख्ने चलन छ । त्यसको पनि अन्त्य गरिनुपर्छ भन्ने हाम्रो माग हो । यी माग सजिला र सहज छन त्यसैले हामीले पुरा हुन्छ भन्ने विश्वास गरेका छौँ । यदि भएन भने हामीसंग अर्को विकल्प छैन , सेवा छाडेर आन्दोलनमा जान बाध्य हुनेछौँ  ।

 केही दिन अघि स्वास्थ्य मन्त्रीलाई भेट्नु भएको थियो क्यारे, के छ उहाँको प्रतिक्रिया ?

उहाँले गर्छु नै भन्नु भएको छ । यसअघिका मन्त्रीहरुले पनि गर्दिन भनेको होइन । गर्छु नै भन्नु हुन्थ्यो । त्यसैले हामी भनाईमा भन्दा पनि गराईमा विश्वास गर्छौँ । मन्त्री ज्यु बीचमा जेनेभा जाने कार्यक्रम रहेछ । उताबाट फर्केपछि १८ माघमा भेटेर छलफल गरौँ भन्नु भएको छ । हामीले सो छलफलबाटै निस्कर्ष निस्क्नुपर्छ अन्यथा आन्दोलनमा जान बाध्य हुन्छौँ भनिसकेका छौँ । किनकी अब हामी आश्वासनले मान्ने वाला छैनौँ कार्यान्वनय नै चाहिन्छ ।

DSC00301

माग पुरा नभएर यदि आन्दोलनमा जानुभयो भने त्यसको प्रत्यक्ष असर त विरामीमा पर्ने देखिन्छ, यसरी आन्दोलन गर्नु जायज हो ?

यस बारेमा हामी धेरै गम्भीर रुपले सोचेका छौँ । अहिलेसम्म नर्सिङ आन्दोलन सशक्त नभएको र भएका सम्झौँताको पनि कार्यान्वनय नभएको यहि कारण हो । किनकी नर्सहरु विरामी छोडेर आन्दोलनमा जान सक्दैनन् । नर्सहरु बढी विरामी प्रति सम्वेदनशील हुन्छन् भनेर नै हाम्रो माग पुरा नगरिएको हो । तर अब हामीले त्यो सोचेर बस्ने पक्षमा छैनौँ । हाम्रो धैर्यताको बाध टुट्न लागिसकेको छ । विरामी प्रति हामी जति सम्वेदनशील छौँ राज्य पक्ष हाम्रा जायज मागप्रति त्यतिकै बढी सम्वेदनशील हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । फेरी हाम्रा माग पुरा गर्नै नसकिने खालका पनि होइनन् । र हामीले आजको भोलि आन्दोलको घोषणा गरेका पनि होइनौँ । सकेसम्म माग पुरा होस र आन्दोलनमा जान नपरोस नै भनेका छौँ ।

नर्सिङ भोलेन्टियरको कुरा उठाउनु भएको छ, भोलेन्टियर अस्पतालले जबरजस्ती राखेको त होइन होला नि ? नर्स नै भोलेन्टियर काम गर्छु भन्दै गएरै त हो,  होइन र ?

त्यसरी भन्न मिल्दैन । भविस्यमा रोजगारी गर्छु,  सेवा गर्छु पैसा पनि कमाउछु, भनेर लाखौँ खर्च गरि पढेका नर्सहरु  अस्पतालमा भोलेन्टियर गर्न जान्छन् भन्नेमा कसैले पत्याउने कुरा होइन । र हाम्रा नर्सहरु अस्पतालमा काम सिक्न जाने पनि होइन । उनीहरु सबै सिकेर ‘पर्फेक्ट’ भएर अस्पतालमा जाने हुन् र पूर्ण जिम्मेबारीका साथ काम गर्ने हुन् । काम गरिसकेपछि श्रमको मूल्याङन गरिनुपर्छ । शोषण गर्न पाइदैन् । रह्यो कुरा नर्सले आफै जाने कुरा नर्सिङमा माथिल्लो तहको अध्ययनका लागि एक बर्षको अनुभव चाहिन्छ, त्यसैले उनीहरुले पढाईका लागि काम खोजे होलान । त्यसैको फाइदा उठाउदै मालिकहरुले पैसा नै नदिने गर्न त मिलेन नि ।

नर्स धेरै भएर निशुल्क काम गर्नुपर्ने बाध्यता भएको हो जस्तो लाग्दैन ?

यदि विश्व स्वास्थ्य संगठनको मादण्ड अनुसार अनुपात मिलाउने हो भने नेपाल सरकारको अस्पतलामा ३० हजार नर्सले पुग्दैन । निजीमा त्यो भन्दा बढी चाहिन्छ । तर दरवन्दी सरकारीमा लगभग १२ हजार मात्रै छ । त्यसमा पनि कार्यरत ८ ९ हजार मात्रै होलान । निजीमा पनि त्यस्तै होला । बाँकी सबै भोलेन्टियरले काम चलेको छ । यस्तो हुन भएन भन्ने हाम्रो माग हो ।

DSC00302

नर्सको दरवन्दी बढाए पनि सबै अटाउने त ठाँउ छैन त ?

अरु देशमा स्कुल हेल्थ नर्स, फयाक्ट्रीमा नर्स, बैँकमा नर्स हुने गर्छन तर नेपालमा त्यो छैन । तर अहिले भुइचालो पछि बालबालिकामा बढेको मानसिक त्रास हटाउन स्कुल नर्सको खोजी भइको छ । केही निजी विद्यालयहरुले त्यस्तो व्यवस्था समेत सुरु गरेका छन् । अहिले हामीले स्कुल हेल्थ नर्स राख्नुपर्छ भनेका छौँ । किनकी १३-१४ बर्षका नानीहरु स्कुलमा ‘मिन्स’ हुन्छ । अनि अलपत्र पर्छ । त्यस्तो बेलामा पनि स्कुल हेल्थ नर्स चाहिन्छ भन्ने हाम्रो माग हो । ‘फस्टएड’ कस्तो ‘टिफिन’ कस्तो आदिकुरा पनि नर्स भयो भने सजिलो हुन्छ । त्यस्तै अफिस बैक फ्याक्ट्रीहरुमा पनि राख्न सकेमा धेरै नर्सको खपत हुन्छ । यो आवश्यक पनि छ ।

तलव सुविधा कति माग्नु भएको हो ?

हामीले धेरै मागेका होइनौँ । मात्रै सरकारी तह अनुसारको सुविधा देउ भनेको हो । जस्तो की स्टाफ नर्स भनेको सुव्वा सरह हो त्यहि अनुसार देउ , अनमीहरु खरदार सरह हुन्छ, त्यहि अनुसार देउ । विएस्सी नर्स भनेको अधिकृत सरह हुन्छ त्यो सरह देउ भनेका मात्रै हौँ । त्यो भन्दा बढी मागेका पनि छैनौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *