कुपोषणबाट जोगाउन खानपानमा सावधानी अपनाउन जोड

नेपाली हेल्थ / काठमाडौँ – जन्मेको दुई बर्ष भित्रै करीब ९० प्रतिशत मस्तिस्कको विकास भइसक्ने भन्दै यस समयमा उनीहरुलाई कुपोषणबाट बचाउनै पर्ने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले शिशुमा कुपोषण भए त्यसको असर जिन्दगीभर रहन सक्ने भन्दै यसमा विशेष सावधानी अपनाउन जोड दिएका हुन् ।

पोषणका लागि नागरिक समाज सञ्जाल, नेपाल (सिसान)ले विहीबार आयोजना गरेको अन्तक्र्रियामा सो उमेरका शिशु कुपोषित भएमा यसको असर दीर्घकालीन रुपमा पर्ने र उपचार पनि सम्भव नहुने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुपोषणकै कारणले विश्वमा प्रत्येक छ सेकेन्डमा एक बच्चाको मृत्यु हुने गरेको छ ।

नेपाल सरकारका पूर्वसचिव तथा नेपाल पोषण प्रतिष्ठानका सल्लाहकार आत्माराम पाण्डेले नेपालमा पोषणको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या विकराल रहेको बताउँदै सो सङ्ख्या भूकम्पपछि अझ बढेर गएको बताए । उनले पोषणका लागि गरिएका सबै कार्यक्रम एकीकृत नभएकाले लक्षित उद्देश्य पूरा गर्न नसकिएको भन्दै पोषण लक्षित सबै कार्यक्रम एकीकृत रुपमा अगाडि लानु पर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक राधाकृष्ण प्रधानले गरिबी मात्र कुपोषणका कारण नभएको उल्लेख गर्दै घरमै प्राप्त खाद्य सामग्रीभन्दा बजारिया खाद्य सामग्रीलाई बढी महत्व दिने चलन बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेकामा जोड दिए ।

सिसानका अध्यक्ष प्रा डा उमा कोइरालाले कुपोषणले बालबालिकाको भविष्यमा पारेको असर, नेपालको अर्थ सम्बन्ध, जनशक्ति उत्पादनलगायत कार्यमा पारेको नकारात्मक प्रभावको तथ्यबारेमा बहस हुन नसकेको भन्दै यस विषयमा छलफलको आवश्यकता रहेको बताइन ।

नेपालमा सन् २०११ मा भएको जनसङ्ख्याको सर्भेक्षणअुनसार ४१ प्रतिशत बालबालिका दीर्घ कुपोषण तथा पुड्कोपनबाट प्रभावित छन् भने ११ प्रतिशत बालबालिका ख्याउटेपन र २९ प्रतिशत कम तौल भएका कारण पीडित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *