के हो योग ? योग गरे के फाईदा ?

- नेपाली हेल्थ
आयुर्वेदक विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले बिहीबार स्वास्थ्य सेवा विभागमा गरेको योग ।

काठमाडौँ, ६ असार । अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बदलिँदो जीवनशैलीका कारण उत्पन्त हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक समस्या समाधान गर्न योग प्रभावकारी मानिएको छ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक एवं बरिष्ठ योग विज्ञ डा. बासुदेव उपाध्याय भन्छन्, ‘योग शारीरिक मानसिक सामाजिक तथा अध्यात्मसंग जोडिएको विषय हो । यसले मानिसको निस्कृय जीवनशैलीलाई सकृय बनाउन मद्धत गर्छ ।,’

पछिल्लो समय देखिने विभिन्न खालका कतिपय स्वास्थ्य समस्याहरु योगकै कारण पनि समाधान हुने स्वयमं चिकित्सकहरुनै बताउदै आएका छन्।

के हो योग ?
सजिलो भाषामा भन्दा मनलाई शरीरसँग जोड्नु। मनलाई आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माका बीचमा संयोग स्थापित गर्नु नै योग हो।

विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु आत्म साक्षात्कार गर्नु नै योग हो। हामी सबै मनुष्य भित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो। संसारमा ८४ लाख प्रकारका जीवन छन् जुन बेलामा आत्माहरूको सृष्टि भए।जब ती आत्मा शरीरमा गए, बन्धनमा भए। त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ। कर्मको विकारले आत्मा घेरिएको हुन्छ। यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुल्ला गराउने योग मात्र साधन हो।

खुल्ला भएको आत्मा नै परमात्मासँग गएर मिल्छ। वास्तवमा जीवनको उद्देश्य नै यही हो। त्यसैले ८४ लाख मध्ये मानिसको जुनी एक उत्कृष्ट अवसर हो। त्यसकारण योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारहरूलाइ हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो। त्यसैले योग भनेको जोडिनु हो।

शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन्। चिन्ता तथा मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन्।

योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो। योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष। प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो। हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन्। हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रादुर्भाव भएको हो।

कति प्रकारका हुन्छन् योग ?
शारीरिक अभ्यासहरूमा हठयोग र अष्टा‌गयोग धेरै प्रचलित छ। जसमा आसन र प्राणायामहरूको धेरै व्याखा गरिएको छ। जसले शरिर र मनलाई शुद्ध बनाएर ध्यानतिर लैजाने काम गर्छ।

श्रीमद्भागवत गीतामामा भने १८ प्रकारको योगको व्याख्या गरिएको छ। गीतामा १८ मध्ये प्रत्येक अध्याय एक–एक योगको नाममा समर्पण गरिएको छ। त्यसैले १८ वटा योग त गीताले मात्र उल्लेख गरेको छ। अहिले हजारौं उपनिषद् छ भन्ने गरिन्छ।

२ सय १८ वटा उपनिषदमात्र लिखित प्रमाणमा छन्। ३२ वटा उपनिषदले योगको बारेमा व्याख्या गरेका छन्। त्यसैले सामान्य मानिसले चिन्ने भनेको अष्टा‌ग योग, ज्ञान योग,कर्म योग, भक्ति योग, सन्यास योग, कुण्डलिनी योग, कर्मसन्यास योग लागायतका योग छन्। तर हाम्रो समाजमा अहिले मानिसले चिन्ने योग भनेको आसन योग हो।

तर यो वास्तवमा योग होइन। अष्टांग योगमा आठ वटा अंग हुन्छन्। यम, सामाजिक अनुसाशन नियम व्यक्तिगत अनुसाशन आशन शारीरिक अनुसाशन प्राणायम प्राण शक्तिलाई नियन्त्रण गर्नु अर्को हो प्रत्याहार जसले हाम्रो शरीरमा रहेका ज्ञानेन्द्रियहरूलाई बाहिर जानबाट रोक्छ। जसले हाम्रो मनलाई भित्रै राख्न सकोस्। अर्को हो धारणा, ध्यान र समाधि यो अष्टांग योग हो। आधुनिक समाजमा चलेको योग भनेको बिहान बलुका घर वा योगशालामा गएर गरिने आसन नै योग हो ।

के छन् योगका फाइदा ?
योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ। तर सही तरिकाले नगरिएको योगले हामीलाई फाइदा भन्दा बेफाइदा गर्छ। तर उपयुक्त तरिकाले योग गर्न सकेका सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झै स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ।, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ। प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ।

११ डिसेम्बर, २०१४ का दिन बसेको संयुक्त राष्ट्रसंघको बैठकले हरेक बर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो । यसको प्रस्तावक भारत थियो भने नेपालले सो प्रस्तावको समर्थन गरेको थियो ।


Facebook Comment


थप समाचार